News

भ्रमणले दुई देशबीचको विश्वासमा अभिवृद्धि– प्रधानमन्त्री प्रचण्ड

भ्रमणले दुई देशबीचको विश्वासमा अभिवृद्धि– प्रधानमन्त्री प्रचण्ड
  असाेज - ०२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणले दुई देशकाबीच विश्वासको वातावरण अभिवृद्धि गर्न मद्दत गरेको बताएका छन् । भारतको चारदिने राजकीय भ्रमण सम्पन्न गरी अाइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको घनिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुगेको विश्वास व्यक्त गरे । prachanda उनले भने, “भ्रमणको प्राथमिकता धेरै विषयको उठानभन्दा पनि असल नियतका साथ दुवै देशबीच विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमति भएका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयनमा केन्द्रित रह्यो ।” प्रधानमन्त्री प्रचण्डले भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरमा भएका उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्ष र विषयमा सौहार्द वातावरणमा गहन र खुला छलफल भएको बताए । “हाल चालु रहेका खुला सीमापार र रेल्वे एकीकृत चेकपोष्ट तथा हुलाकी सडकजस्ता महत्वपूर्ण परियोजनाको प्रगतिको नियमित समीक्षा गरी समयबद्धरुपमा पूरा गर्न ठोस उपाय अपनाउनुका साथै शीघ्र कार्य सम्पन्न गर्न हामी सहमत भयौँ”– उनले भने । नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषयको समीक्षा र पुनरावलोकन गर्न आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा निर्णय लिन परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सन् २०१६ मा गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । उनले भारत हुलाकी राजमार्गको दोस्रो चरण, बुटवल जोड्ने सीमापार प्रसारण लाइन र हेटौँडा तथा ढल्केवरमा विद्युतीय सवस्टेसनको निर्माण एवम् कास्कीमा पोलिटेक्निक निर्माणका लागि सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डको भ्रमणका क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले घोषणा गरेको सहुलियतपूर्ण ऋण उपयोगसम्बन्धी सम्झौता, विगतमा घोषित सहुलियत ऋणको संशोधित सम्झौता र भारतको सहयोगमा निर्माण हुने हुलाकी सडकको पहिलो चरण निर्माणका लागि परामर्शदाता नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको थियो । त्यस्तै जलविद्युत् क्षेत्रमा लगानी तथा सहयोगको अभिवृद्धिका लागि २०१४ मा सम्पन्न नेपाल–भारत ऊर्जा व्यापार सम्झौता (पिटिए) लाई आवश्यक उपाय अवलम्बन गर्दै कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएका छन् । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अध्ययन गरी अन्तिम रुप दिन दुबै पक्षबीच सहमति भएको उनले बताउनुभयो । भारतले पुनःनिर्माणमा उदारतापूर्वक गरेको सहयोगलाई प्रभावकारी रुपमा उपयोग गर्ने सहमति भएको छ । दुवै देशको सुरक्षासम्बन्धी समान चासो रहेका सन्दर्भमा दुवै पक्षका सुरक्षा निकायबीच सहयोग तथा समन्वयको विस्तार गरी अवाञ्छित तत्वबाट खुला सिमानाको दुरुपयोग हुन नदिनेबारेमा पनि कुराकानी भएको थियो । व्यापार तथा पारवहन सहज र सुदृढ गर्न थप उपाय अपनाउन दुवै देशबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “भारतसँगको नेपालको बढ्दो व्यापार कम गर्न नेपालको निर्यात व्यापारलाई बढाउने उपायका बारेमा पनि छलफल भयो ।” नेपालको औद्योगिकीकरण तथा व्यापार विस्तारमा भारतको सार्वजनिक तथा निजी क्षेत्रकोे सहभागिताका लागि छलफल भएको बताउँदै उनले दुवै मुलुकका निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिने सम्बन्धमा पनि छलफल भएको जानकारी गराए । सञ्चारकर्मीको जिज्ञासमा प्रधानमन्त्री प्रचण्डले भारत र चीनसँग नेपालको सम्बन्धको आयाम फरक भएकाले भारतसँगको सम्बन्धले चीनसँग दूरी नबढ्ने स्पष्ट पाएका थिए। प्रधानमन्त्री प्रचण्डले स्वदेश फर्कनुअघि आजै भारतको हरिद्वारस्थित पतञ्जली योगपीठको अवलोकनसमेत गरे  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा गत भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री मोदीलगायतसँग उच्च राजनीतिक भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतमा दुवै मुलुकको आपसीहित र सम्बन्धका बारेमा छलफल गर्नुका साथै महत्वपूर्ण तीनबुँदे महत्वपूर्ण समझदारीमा हस्ताक्षर गर्नुभएको थियो । भ्रमण टोलीमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलगायत थिए ।

pm pushpakamal dahal prachanda

विशेष