ताजा खबर News स्वास्थ्य

पाटन अस्पतालमा दुगन्ध, शव राख्ने फ्रिज विग्रीयो

पाटन अस्पतालमा दुगन्ध, शव राख्ने फ्रिज विग्रीयो

 patan-hospital असोज ३ । पाटन अस्पतालको शवगृहमा राखिएका बेवारिसे शव कुहिएर दुर्गन्ध फैलिएको छ । शवगृहको कुलर (शव राख्ने फ्रिज) बिग्रिएको लामो समय बित्दा पनि अस्पताल प्रशासनले बनाउन चासो नदिँदा दुर्गन्ध फैलिएको हो ।

दुर्गन्धले अस्पताल आउने बिरामी तथा कुरुवाले सास्ती खेप्नुपरेको छ । दुर्गन्ध अस्पताल बाहिरसमेत पुगेपछि त्यस क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण पनि प्रभावित भएका छन् । पाटन अस्पताल प्रशासन प्रमुख तीर्थ भुजेल अस्पतालको कुलर बिग्रिएको बताउँछन् । ‘तर कुलर बने पनि लोडसेडिङले चलाउन पाइँदैन,’ उनले भने, ‘त्यसैले गर्मीमा चाँडै दुर्गन्ध फैलिने गरेको छ ।’

उनका अनुसार अस्पताल पसिरमा ठाउँ अभावका कारण पनि यस्तो समस्या भएको हो । ‘शव व्यवस्थापन गर्ने जिम्मेवार निकायले निश्चित समयमा व्यवस्थापन नगर्दा पनि समस्या भएको छ,’ उनले भने । प्रहरीले झन्डै २ महिनाअघि अस्पतालमा ल्याएको ३ महिला र १ पुरुषको गरी ४ वटा शवमा किरासमेत परिसकेका छन् । प्रहरीले ती शव कुपन्डोलस्थित वाग्मतीकिनार, शंखमूलस्थित पाटी, बल्खुस्थित मनमोहन पार्क र बगलामुखी मन्दिर परिसरमा भेटाएर शवगृहमा ल्याएको हो ।

महानगरीय प्रहरी पोस्ट पाटन अस्पतालका असई दलबहादुर श्रेष्ठले शव मुचुल्का गरी व्यवस्थापनका लागि नगरपालिकालाई पत्र पठाइसकेको बताए । ‘हामीले शव व्यवस्थापनका लागि सहज बनाउने मात्र हो,’ उनले भने, ‘हामीलाई जलाउने अधिकार छैन ।’

उपनपा वातावरण शाखाका इन्जिनियर प्रदीप अमात्यले प्रहरीको पत्र नआएको बताए । ‘पर्याप्त बजेट नहुँदा पनि व्यवस्थापनका लागि गाह्रो भएको छ,’ उनले भने, ‘३ लाख बजेटले वर्ष्दिनमा ३० भन्दा बढी शव आए दाहसंस्कार गर्न पुग्दैन ।’

Patan Hospital

विशेष