अपराध सुरक्षा ताजा खबर News समाज

मन्त्री नै ट्याक्सीको छड्केमा निस्किएपछि...

मन्त्री नै ट्याक्सीको छड्केमा निस्किएपछि...

jiban

असोज ४ ।  अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटकको भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले  ठग्न खोज्यो ।

दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठमा पसे । र, कालो पाइन्ट, सेतो टिसर्ट, ह्याट र कालो चस्मामा सजिएर  पर्यटकको भेषमा बाहिर निस्किए । मन्त्री शाही इत्तेहाद एयर ल्यान्ड गरेको समयमा एयरपोर्ट पुगेका थिए । इमिग्रेसनमा पासपोर्ट माग्दा गोजीमा हात हालेजस्तो गरेर फुत्किएको उनले बताए । ‘एयरपोर्टमा ट्याक्सीले पर्यटकलाई दुःख दिने, तान्ने, भनेको होटलमा नपु-याउने भएपछि वास्तविकता थाहा पाउँन आफैँ पर्यटक बनेर एयरपोर्टदेखि ठमेलको होटससम्म पुगेको हुँ’ मन्त्री शाहीले भने, ‘ट्याक्सीवालाहरुले दुःख दिने गरेको हो रहेछ । यस्ता गतिविधिलाई सुधार्न नागरिक उड्ययनको जिएमलाई निर्देशन दिएको छु ।’ पर्यटक बनेका मन्त्री शाहीलाई बाहिर निस्किने बित्तिकै ट्याक्सीवालाले घेरेर तानातान गर्न थाले । उनले आफुलाई भारतीय मूलको अमेरिकी भएको र नेपाल घुम्न आएको परिचय दिए ।

ट्याक्सीवालाहरुले ठमेल प-याएको भाडा १५ डलरसम्म लाग्ने बताए । एकछिनको बार्गेनिङपछि ७ डलर (सात सय)मा कुरो मिलाएर उनी बा१ग १०१६ नम्बरको ट्याक्सीमा चढे । साथीले आफुलाई काठमाडौं गेस्ट हाउस जान सुझाएको बताउँदै मन्त्री शाहीले ट्याक्सीचालकलाई सोही गेस्टहाउसमा लैजान भनेका थिए । तर, ट्याक्सी चालकले दियालो हिमालयमा लगिदियो । शाहीले ‘यो होटेल मन परेन’ भनेपछि नजिकैको अर्को होटलमा लगिदियो । अन्तिममा मात्रै काठमाडौं गेस्ट हाउस पु-यायो । ट्याक्सीलाई कुराएर मन्त्री शाही ‘कोठा बुक गर्छु’ भन्दै होटलमा छिरे ।

एसी भएको कोठाको २ सय डलर र त्यसमा ६० प्रतिशत छुट तथा एसी नभएको कोठाको ८० डलर र त्यसमा ५० प्रतिशत छुट दिइने होटेल म्यानेजरले उनलाई सुनाए । होटलबाट बाहिर निस्केर मन्त्री शाहीले ट्याक्सीको फोटो खिच्दै चालकलाई आफ्नो परिचय दिए ।

‘पर्यटकले ट्याक्सीदेखि होटलसम्म ठगेको गुनासो गर्दै आएको सुनेको थिएँ, तर, के हो वास्तविकता बुझ्न यसो गरेको हुँ’ उनले नयाँ पत्रिकासित भने, ‘अब एयरपोर्टमा ट्याक्सीवालाले दुःख नदिउन्, नठगुन भन्नका लागि यस्तो गरेको हुँ ।’ पछि ट्याक्सीको साहूले मन्त्री शाहीलाई मोबाइलमा म्यासेज पठाएर ‘अब त्यस्तो गल्ती नगर्ने’ भन्दै क्षमा मागेको मन्त्री निकट स्रोतले बतायो ।

फुटेज हेरेर सुधार गर्छौ

मन्त्रीको छड्केपछि नागरिक उड्ययनका जिएम देवानन्द उपाध्यायले अब सिसिटिभी फुटेज हेरेर यस्तो गर्नेलाई कारवाही गर्ने बताएका छन् । ‘कमी कमजोरी देखिएका छन् । हामी लागेका छौं । सिसीटिभी फुटेज हेरेर हामी के के सुधार गर्नुपर्छ, सुधार गर्छौ’ उपाध्यायले भने, ‘मन्त्रीले निर्देशन दिनुभएको छ । ट्याक्सीले एयरपोर्टदेखि होटलसम्म गर्ने गरेका कमजोरी हटाउन पहल  गर्छौ ।’

नयाँ पत्रिका

Jibanbahadur Shahi taxi

विशेष