ताजा खबर News स्वास्थ्य

प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना, प्रवेश परीक्षा नहुँदै १६ लाख पेश्की

प्रवेश परीक्षा नहुँदै धमाधम भर्ना, प्रवेश परीक्षा नहुँदै १६ लाख पेश्की

kmc

भदौ ४ ।  सिनामंगलको काठमाडौं मेडिकल कलेजले एक भारतीय विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुन १० लाख भारु (१६ लाख रुपैयाँ) जम्मा गर्न विद्यार्थीका अभिभावकलाई एक पत्र दिए । नेपाल मेडिकल काउन्सिलले सन् २०१६ का लागि अहिलेसम्म मेडिकल कलेजहरूको सिट निर्धारण गर्न सकेको छैन । काठमाडौं विश्वविद्यालयले पनि नेपाली विद्यार्थीसँग भर्ना आवेदन लिने र प्रवेश परीक्षाको मिति तोक्ने काम सुरु गरेको छैन । मेडिकल कलेजले भने विदेशी विद्यार्थीलाई धमाधम खातामा रकम बुझाउन ताकेता गर्दै पत्र काटिरहेका छन् ।

काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल चन्दा कार्कीले भने प्रवेश परीक्षाअघि विद्यार्थीलाई डिपोजिट गर्न पत्र नकाटिएको दाबी गरिन् । ‘भर्ना हुन चाहेका विदेशी विद्यार्थीहरूलाई हामीले फर्म भराएका छौं, प्रवेश परीक्षाका बारेमा कोचिङ क्लास पनि दिएका छौं,’ कार्कीले भनिन्, ‘प्रवेश परीक्षाअघि शुल्क माग्ने कुरै हुँदैन, उनीहरूसँग एक पैसा पनि मागेको र लिएको पनि छैनौं ।’

सिट बुकिङ गर्न १६ लाख काठमाडौं विश्वविद्यालयअन्तर्गतका अधिकांश मेडिकल कलेजहरूले सिट निर्धारण र प्रवेश परीक्षा नहुँदै विदेशी विद्यार्थी ‘बुकिङ’ गरिरहेका छन् । स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा २८ जना भारतीय विद्यार्थीले नाम बुकिङ गरिसकेका छन् ।

काठमाडौं मेडिकल कलेजले दुई सातादेखि ती विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गर्न थालिसकेको छ । बुकिङका लागि १० लाख (भारतीय रुपैयाँ) बुझाएका उनीहरूले पास भएपछि थप १५ लाख भारु (२४ लाख रुपैयाँ) बुझाउनुपर्नेछ । एमबीबीएसका लागि केएमसीले कुल ४४ लाख रुपैयाँ लिइरहेको छ ।

चितवनको कलेज अफ मेडिकल साइन्सेजले ४६ लाख रुपैयाँ भारु (करिब ७४ लाख रुपैयाँ) रुपैयाँ शुल्क तोकेर धमाधम भारतीय विद्यार्थी बुकिङ गराइरहेको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पनि श्रीलंका र भारतका विद्यार्थीले ‘बुकिङ’ गराइरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा करिब ५० जना भारतीय विद्यार्थीले बुकिङ गरिरहेका छन् । विराटनगरको विराट मेडिकल कलेजमा २५ भन्दा बढी विदेशी विद्यार्थीले नाम रजिस्ट्रेसन गराएका छन् । शुक्रबारदेखि प्रवेश परीक्षाको तयारी कक्षा सुरु गर्न लागेको नोबेल मेडिकल कलेजमा ६० जनाभन्दा बढी विदेशी विद्यार्थी आएका छन्, जसमध्ये ३० जनाभन्दा बढी माल्दिभ्सका छन् ।

नेपाल मेडिकल काउन्सिलको नियमअनुसार मेडिकल कलेजहरूले मनोमानी ढंगले विदेशी विद्यार्थी भर्ना गर्न पाउँदैनन् । नेपाली विद्यार्थी उपलब्ध नभएमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न पाउने नियम छ । तर, विश्वविद्यालयले आँखा चिम्लिँदा कलेजहरूले धमाधम विदेशी विद्यार्थीसँग प्रवेश परीक्षाअघि नै मोटो रकम लिइरहेका छन् ।

‘नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरूका लागि सिट नतोकी विद्यार्थी भर्ना गर्न र शुल्क उठाउन कुनै हालतमा मिल्दैन,’ काउन्सिलका रजिस्ट्रार दिलीप शर्मा भन्छन्, ‘यदि कुनै मेडिकल कलेजले त्यसो गरेका छन् भने गैरकानुनी हुन्छ ।’

मेडिकल कलेजका सञ्चालकहरूले प्रवेश परीक्षाअगावै विद्यार्थीलाई पास गराइदिने आश्वासन उनीहरूका अभिभावकहरूलाई दिएका छन् । उनीहरूले ‘प्रवेश परीक्षा पास नभए’ विद्यार्थीबाट उठाएको शुल्क फिर्ता हुने बताएका छन् ।

प्रवेश परीक्षाको तयारी गरिरहेका एक जना विद्यार्थीका अभिभावकले नाम नबताउने सर्तमा भने, ‘बैंकमा पैसा राखेर रसिद बुझाउन लगाएका छन् । पक्कै ठग्दैनन् होला ।’ त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले भने एकीकृत प्रवेश परीक्षा लिने भएकाले सम्बन्धन लिएका कलेजहरूले यसरी जथाभावी भर्ना गर्न पाएका छैनन् ।

केयूको रहस्यमय मौनता सन् २०१५ मा अधिकतम १ सय ३५ सिट निर्धारण गरेको नेपाल मेडिकल काउन्सिलले यस पटक त्यो संख्या १ सय १५ बनाउँदै छ । त्यही अनुपातमा थोरै सिट पाउने मेडिकल कलेजहरूको कोटा पनि घटदै छ । आम्दानीमा लागेको धक्काको शोधभर्नास्वरूप काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले धमाधम विदेशी विद्यार्थी भर्ना गर्ने रणनीतिअनुसार काम थालेका हुन् ।

यो मामिलाका जानकार एक उच्च स्रोतका भनाइमा ‘उनीहरूले पास हुनेहरूलाई औपाचारिक रूपमा ३५ लाख रुपैयाँ एउटा खातामा जम्मा गर्न लगाएर बाँकी रकम अर्को खातामा राख्न र त्यसको रसिद प्रशासनमा पेस गर्न लगाउने गरेका छन् ।’

मेडिकल कलेजहरूले नै प्रवेश परीक्षा लिने र धेरै शुल्क दिने अभिभावकका विद्यार्थीलाई डाक्टर पढाउने अभियान खुलेआम भइरहँदा पनि काठमाडौं विश्वविद्यालय भने मौन छ । उसले आफूले सम्बन्धन दिएका मेडिकल कलेजहरूलाई नियमन गर्न सकेको छैन । हाल विभिन्न स्तरबाट विश्वविद्यालयमै एकीकृत प्रवेश परीक्षा लिन र ‘मेरिट’ का आधारमा भर्ना गर्न दबाब परिरहेको छ ।

कान्तिपुर

KMC college

विशेष