विद्यालय सुरक्षित छन्, बालबालिका पठाउँदा हुन्छ
असोज ४ । काठमाडौंका १२ वटा विद्यालयमा मंगलबार बिहानै बम आतंक मच्चिएको छ । यी मध्ये जोरपाटीमा बिहान पौने चार बजे दुई बम विष्फोट भए । बाँकीमा नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।
विद्यालयमा बम भेटिएपछि अभिभावकहरु त्रसित छन् । प्याब्सनका महासचिव डिके ढुंगानाले अभिभावकहरुलाई त्रसित नहुन आग्रह गरेका छन् । उनले भने, ‘अब स्थिति नियन्त्रणमा आइसकेको छ । विद्यालयहरु सुरक्षित छन् । बालबालिका पठाउँदा हुन्छ ।’
माग पूरा गराउने नाममा विद्यालयमा बम राख्ने जस्तो तल्लो स्तरको क्रियाकलाप क्षम्य अपराध नभएको महासचिव ढुंगानाले बताए । उनले भने, ‘यस विषयमा सरोकाबारवालाहरुलाई राखेर छलफल पनि गर्दैछौं । बालअधिकारको दुहाई दिने संगठनले नै बालबालिका जाने विद्यालयको गेटमै बम राख्नु कतिसम्म निर्लज्ज व्यवहार हो बुझ्न सकेका छैनौं ।’
ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चनजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र जोरपाटी दक्षिणढोकास्थित मनोकामना लगायतस्कुलमा बम राखिएको थियो । प्रहरीका अनुसार विभिन्न स्थानमा बम विष्फोटन गराउने योङ कम्युनिट फोर्सका २ कार्यकर्तालाई पक्राउ गरिएको छ ।