News

विद्यालयमा बम विस्फोट गराउनेमाथि कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी

विद्यालयमा बम विस्फोट गराउनेमाथि कारवाही नभए कडा आन्दोलन गर्ने चेतावनी
असोज ०४ । विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन् । hissan बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी विद्यालयमा बम आतंक फैल्याउने अर्थात मंगलबार भएका घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको आक्रोश व्यक्त गरेका छन् । शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो । सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए। उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे । बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुखद भएको भन्दै घटनाको निन्दा गरेका छन् । केसीले आगामी दिनमा राज्यले यस्ता घटना नियन्त्रण नगरिए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए । राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको भनाई छ । कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले मंगलबार घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिए ।

bomb bisfot HISSAN PABSAN

विशेष