ताजा खबर प्रवास News

नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको संख्या ९० हजार पुग्यो

नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको संख्या ९० हजार पुग्यो
usa असोज ५ । नेपालबाट अमेरिका जाने भुटानी शरणार्थीको सङ्ख्या ९० हजार पुगेको छ । काठमाडौंस्थित नेपालका लागि अमेरिकी दूतावासमा मंगलबार आयोजित एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिकामा पुनर्वास हुन गइरहेकी नब्बे हजारौँ नम्बरमा परेकी भुटानी शरणार्थी सरिमाया ठटाललाई बिदाई गरिन् । ठटाल आफ्ना चार सन्तानका साथ अमेरिकाको न्यू ह्याम्पसियरमा नयाँ जीवनको थालनी गर्नका लागि नेपालबाट बुधबार प्रस्थान गर्न लागेकी हुन् । समारोहमा राजदूत टेप्लिज्ले नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक भुटानी शरणार्थीलाई आतिथ्य सत्कार प्रदान गर्दै आएको बताउँदै शरणार्थीको तेस्रो मुलुक पुनर्वास हालैका वर्षमा अत्याधिक सफल शरणार्थी व्यवस्थापन विधि बनेको बताइन् । स्वदेश फर्कन चाहने शरणार्थीलाई फिर्ता लिनका लागि अन्तर्राष्ट्रिय समुदायले भुटान सरकारसँग आग्रह गरिरहेको भएपनि नेपालमै बाँकी रहने शरणार्थीका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु अति महत्वपूर्ण हुने उनको भनाइ छ । नेपालमा २० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले संयुक्त राज्य अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसर प्राप्त हुने विश्वास व्यक्त गरिन् । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)का नियोग प्रमुख पल नर्टन र शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर)का लागि नेपाल प्रतिनिधि केभिन एल्लेनले पनि कार्यक्रममा सहभागी थिए । तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार पुगेको छ । अमेरिकाले नेपाल सरकार, युएनएचसिआर, आइओएम तथा अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्युजिल्याण्ड, नर्वे र बेलायतका सरकारसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको हो ।

विशेष