अन्तरवार्ता व्यापार

एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना, महाप्रबन्धक भन्छन्, ‘त्यस्तो त भइहाल्छ नी !’

एअरपोर्ट पुगेपछि थाहा हुन्छ उडान रद्दको सूचना, महाप्रबन्धक भन्छन्, ‘त्यस्तो त भइहाल्छ नी !’

Nepal Airlinesअसोज ५ । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं–चौरजहारी जान प्रेम प्रकाश राना बिहानै त्रिभुवन विमानस्थल पुगे । बिहान साढे ६ बजे नै उडान हुने भनेपछि उनी झिसमिसेमै विमानस्थल पुगेका थिए ।

विमानस्थल पुगेपछि मात्रै उनलाई भनियो, ‘फ्ल्याइट रद्द भयो । अर्को हप्तालाई सर्यो ।’ यो घटना अघिल्लो साताको हो । बुधबार फेरि उनी बोलाइएको समय अर्थात बिहान साढे पाँचबजे विमानस्थल पुगे । त्यहाँ पुगेपछि मात्रै भनियो, ‘फ्ल्याइट डिले भएको छ । जहाज साढे नौमा उड्छ ।’

बिरामी भएका कारण मोटरमा जान नसकेर विमान पर्खेको चौरजहारीका प्रेमप्रकाशले जानकारी दिए ।  नेपाल वायुसेवा निगमका कर्मचारीहरुले यात्रुमाथिको यस्ता अत्याचारबारे गुनासो गर्दै उनले भने, ‘रद्द भएको, उडान सरेको कुरा पहिले नै किन भन्दैनन् यीनीहरुले ?’

विराटनगर उडानकालागि बिहान सात बजेको टिकट बेचेको नेपाल वायुसेवा निगमले आकस्मिक रुपमा उडान रद्द गर्दा विचल्लीमा परिन् विराटनगरकी कमला भगत । उनले भनिन्, ‘घरमा आपत परेको छ । निजीले ६ हजार लिन्छन्, सरकारीले दुःख मात्रै दिन्छ ।’

उडान रद्द भएको खबर धेरैजसो यात्रुले विमानस्थल पुगेपछि नै थाहा पाउँछन् ।

यी घटनाक्रमलाई आफ्नै आँखाले देखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमा लेखे, ‘एकाबिहानै बेथितिसँग साक्षात्कार भयो ।’

यस्तो बेढंगको व्यवहार यात्रुसँग किन ? मल्ललाई एअरपोर्टका एक कर्मचारीले जवाफ फर्काए, ‘दसैंको बेला भयो । अब त समस्या झन बढ्छ । उस्तै परे सबै जहाज बिग्रन पनि सक्छन् । यो सब निजी क्षेसँग जोडिएका हवाई माफियाका करतुत हुन् ।’

कर्मचारीको भनाइको आसय थियो कि दसैंको बेला व्यापार राम्रो हुन्छ । निजी क्षेत्रका माफियाले आरएको जहाज थन्क्याउने सेटिङ मिलाउँछन् र आफ्नो व्यापार बढाउँछन् । मल्लले यो दृश्य नियालेपछि नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई फोन गरेर सोधे, उडान स्थगत र डिले भएको खबर यात्रुलाई दिँदा हुन्थ्यो नी ? ’ कंसाकारको जवाफ थियो, ‘यस्तो त भै हाल्छ नी !’

यस्तो गैर जिम्मेवार जवाफ दिएपछि कंसाकारलाई के कारबाही गर्न सकियला भनेर मल्लले सामाजिक सञ्जालमै प्रश्न तेस्र्याएका छन् ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार भने यात्रुलाई सूचना नदिने नियत नरहेको बताउँछन् । उनले उडान रद्द भएको, डिले भएको सूचना यात्रुले पाइरहेको दाबी गरे । कंसाकारले भने, ‘कहिले काहीँ टावरले मौसमका कारण आकस्मिकरुपमा उडान अनुमति दिँदैन । त्यस्तो बेला अगाडि सूचना दिन सकिँदैन । ’

निगमसँग अहिले आन्तरिक उडानकालागि चार वटा जहाज छन् । दुई ट्वीनअटर र दुई चिनियाँ । चिनियाँ जहाज नियमित परीक्षणका क्रममा छ । बाँकी तीन वटाले सेवा दिइरहेका छन् । कंसाकार भन्छन्, ‘चार वटाको काम तीन वटाले गर्नुपर्दा उडान डिले हुनु स्वभाविक हो । मौसमका कारण पनि उडान रद्द हुन्छन् । वायु सेवाको क्षेत्रमा यस्तो त भै हाल्छ नी ।’

nepal airline

विशेष