News

कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रमिक पाइयाे

कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रमिक पाइयाे
असाेज - ५  । सरकारी उच्च ओहोदाका कर्मचारीदेखि सांसदसम्मको घरमा घरेलु बालश्रम रहेको पाइएको छ । child-labour भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई आगामी चैतसम्ममा उपत्यकाकै पहिलो बालश्रममुक्त नगरपालिका बनाउने अभियानको क्रममा गरिएको अनुुगमनमा सो तथ्य सार्वजनिक भएको हो । अनन्तलिङ्गेश्वर नगरपालिका–६ स्थित सिरुटारबाट गत माघ २० गतेबाट औपचारिक रुपमा अभियान सुरु गरेको थियो । अभियानमा सक्रिय रहेको अनन्तलिङगेश्वर नगरस्तरीय बाल संरक्षण तथा संर्वद्धन उपसमितिले यस नगरपालिका क्षेत्रमा मात्रै ७८ जना घरेलु बालश्रमिक पाइएको उपसमितिका सदस्य सचिव सुनिता सिलवालले जानकारी दिएका छन् । विभिन्न जिल्लाबाट परिवार छाडेर आएका ७८ जनामध्ये १४ वर्ष मुनिका ४० जना घरेलु बालबालिका श्रममा रहेको पाइएको हाे । अभियानका क्रममा घरघरमा गएर गरिएको अनुगमनमा यस नगरपालिकामा क्षेत्रमा बसोवास गर्दै आएका बाहलवाला कर्मचारी, नेपाली सेनाका मेजर, नगरपालिकाका कार्यकारी अधिकृत, प्रहरी नायब उपरीक्षक, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीदेखि सांसदसम्मका घरमा घरेलु बालश्रममा रहेको पाइएको सदस्य सचिव सिलवालले बताएका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालसहित नगरपालिकाका कर्मचारी, जिल्ला बाल कल्याणसमिति, प्रहरी, बाल संरक्षण समितिलगायतको संयुक्त टोलीले घरघरमा अनुगमन गरेका थिए । समितिका सदस्य श्रीकृष्ण थापाले बालश्रम मुक्त नगरपालिका बनाउने अभियान रोक्न विभिन्न निकाय तथा व्यक्तिबाट धम्की आएको र केन्द्रीय बालकल्याण समितिबाट समेत निर्देशन आएको बताए । उनले भने —“उच्च पदस्थ व्यक्तिको घरमा बालश्रमिक पाइएपछि धेरै धम्की आएका छन्, केन्द्रीय बाल कल्याण समितिले समेत अभियान रोक्न निर्देशनात्मक दबाब दिएको छ, तर अभियान जारी राखेका छाैँ ।’ कतिपय घरेलु बालश्रमिकलाई दुर्व्यवहार समेत गरेको पाइएको सदस्य थापाले बताए ती बालश्रमिकको उद्धार गर्न बाँकिरहेको बताउँदै असोज १५ गतेसम्म घरेलु बालश्रमिकलाई उनीहरुको परिवारसँग पुनःमिलन गराउने समय दिएको पनि उहाँले बताउनुभयो । समयमै बालश्रमिकलाई परिवारमा पुनःमिलन नगराए ती बालबालिकाको उद्धार गरिने र उनीहरुको नाम सार्वजनिक गरी कारबाहीको लागि अगाडि बढ्ने सदस्य थापाले बताए । अभियानका क्रममा बालश्रमिक नभएका घरमा हरियो झन्डा गाडेको र बालश्रम प्रयोग भएका घरमा झन्डा नगाडिएको उनले जानकारी दिएका छन् । - रासस

anantalingeshwor Bhaktapur child laboour

विशेष