भारतले कश्मीरमा थप सेना पठाउन सुरु

असाेज - ७ । कश्मीरस्थित उरी सैन्य शिविरमा आतंकवादी आक्रमणपछि भारतले कश्मीरस्थित सीमा क्षेत्रमा थप सेना पठाउन सुरु गरेको छ । उसले सीमा क्षेत्रमा बोफोर्स गनं, १०५ मध्यम आर्टिलरीलगायतका हतियार तैनाथ गरिरहेको छ ।
पाकिस्तानी भूमिबाट घुसपैठको पटक पटक प्रयास भएपछि उक्त कामलाई तीव्रता दिइएको छ । बिबिसी सेवाले भारतीय सेना युद्धको तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।
भारतीय सेनाले भने उक्त कदमलाई हिउँ पर्नुअघि गरिएको सतर्कता मात्र बताएको छ । बुधबार राति अबेरदेखि भारतले उत्तरी कश्मीरमा सेनाले मार्चपास सुरु गरेको छ ।
उनीहरूले युद्धसामग्री लिएको बताइएको छ । सीमा क्षेत्र र कश्मीरमा सैनिक गतिविधि बढाइएको जानकारी दिएको बिबिसीले भारतीय सेनाका एक प्रवक्तालाई उद्धृत गरेको छ ।
यसैगरी मुम्बईमा नौसेनालाई सतर्क राखिएको छ । आतंकवादी हतियारसहित देखापरेको जानकारी पाएपछि यस्तो तयारी गरिएको भारतीय नौसेनाका प्रवक्ता डिके शर्माले जानकारी दिएका छन् । बिहीबार बिहानै पठानी सुट लगाएका ५ जना संदिग्ध हतियारसहित देखा परेका थिए ।
army
India
Kashmir
