'दलहरु एकजुट नभए निर्वाचन असम्भव'- पूर्व निर्वाचन आयुक्त उप्रेती
असाेज - ८ । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् ।
सदरमुकाम कुश्मामा शनिबार पत्रकारसँग कुरा गर्दै उनले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का व्यक्त गरे । दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुने भन्दै उनले राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाए । बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
उप्रेतीले दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए। निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिए ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने भन्दै उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताए। - रासस
nilkantha uprety
Nirwachan ayukaa