दशैमा २ देखि ३ घण्टा लोडसेडिङ हुने

असाेज - ८ । नेपाल विद्युत प्राधिकरणले दशैंको समयमा लोडसेडिङ घटाउने तयारी गरेको छ । सो समयमा दैनिक औषत २ देखि ३ घण्टामात्रै लोडसेडिङ गर्ने तयारी छ । दशैंको मुख्य दिनहरुमा औद्योगिक प्रतिष्ठानहरु बन्द हुने भएकाले बिजुली बचत हुन्छ ।
त्यसैकारण दशैंमा फुलपातिको दिनदेखि दशैं नसकिँदासम्म दिनको २ देखि ३ घण्टासम्म मात्रै लोडसेडिङ हुने प्राधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘दशैंमा मुख्यतयाः घरायसी उपभोक्ताको लागि मात्रै बिजुली खपत गर्दा हुन्छ । व्यवसायिक औद्योगिक प्रतिष्ठान प्रायः बन्द हुने भएकाले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टासम्म झार्न सकिन्छ’ श्रेष्ठले भने ।
उनले उत्पादन बढेकाले भारतबाट आयत भएका ५० मेगावाट बिजुली पनि अहिले नल्याइने बताए ।
माथिल्लो मर्स्याङ्दीबाट उत्पादन भएको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने अवस्था छ । चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुले गाविसमा पावर हाउस राखेर मर्स्याङ्दी नदीबाट बिजुली निकालेको हो ।
अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ हुनछ । एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा र दुई दिन आठ घण्टा लोडसेडिङ हुने गरेको छ ।
dashain
light
Loadseding
