News

‘आशा गरौं चाँडै यो प्रक्रिया पुरा हुन्छ ।’ - उपप्रधानमन्त्री निधि

‘आशा गरौं चाँडै यो प्रक्रिया पुरा हुन्छ ।’ - उपप्रधानमन्त्री निधि

असोज ८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसमा आन्दोलनरत असन्तुष्ट पक्षलाई सम्बोधन गर्नेगरी संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारी भइरहेको बताएका छन् ।

‘संविधान संशोधन गर्न सरकारमा सहभागी दलबीच आन्तरिक र आन्दोलनरत पक्षसँग छुट्टाछुट्टै छलफल चलिरहेको छ’ जनकपुर उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती समारोह उद्घाटन गर्न शनिबार यहाँ आएका गृहमन्त्री निधिले सञ्चारकर्मीसँग भने, ‘आशा गरौं चाँडै यो प्रक्रिया पुरा हुन्छ ।’ मधेसी मोर्चा र सरकारबीच भएको सम्झौता अनुरुप मधेस आन्दोलनको क्रममा दर्ता भएको मुद्दा फिर्ताको विषयमा पनि गृह र कानुन मन्त्रालयबीच छलफल भइरहेको उपप्रधानमन्त्री निधिले बताए। एक वर्षदेखि जारी मधेस आन्दोलनलाई सम्बोधन गर्न सरकारले इमान्दारीपूर्वक काम गरिरहेको उनले दावी गरे।

स्थानीय निकायको सीमांकन निर्धारण विषयमा सीमांकन निर्धारण आयोगभित्रै मतभेद रहेको बताउँदै उनले थपे, ‘इलाकालाई आधार बनाएर अहिलेको विवादलाई समाधान गर्न सकिन्छ ।’ सरकारले स्थानीय निकायको संख्या हजारदेखि १२ सय निर्धारण गरी सकेसम्म चाँडो विवाद मिलाउन छलफल सुरु गरेको उनले बताए । संविधान संशोधन र स्थानीय निकायको सीमा निधारण गर्न एमालेले पनि साथ दिने उनले विश्वास व्यक्त गरेका छन् ।

Bimalendra Nidhi Sambidhan samsodhan

विशेष