अस्ट्रेलियामा रहेका आप्रवासीका परिवारले ५ वर्षको अस्थायी आवासीय भिसा पाउने

असाेज - ८ । अस्ट्रेलियामा रहेका आप्रवासीका परिवारले पाँच वर्षको अस्थायी आवासीय प्रवेशाज्ञा पाउने भएका छन् ।
लामो समयदेखि पारिवारिक प्रवेशाज्ञाको पर्खाइमा रहेका परिवारका लागि सहज होस् भन्ने उद्देश्यले पाँच वर्षको अस्थायी प्रवेशाज्ञा दिने घोषणा गरिएको अस्ट्रेलिया सरकारले जनाएको छ ।
अस्ट्रेलियामा बसिरहेका आप्रवासीहरुमा तत्कालीन प्रवेशाज्ञा प्रक्रियाका कारण निराशा छाएकाले यस्तो निर्णय लिइएको अस्ट्रेलियाको आप्रवासी मन्त्रालयका सहायक मन्त्री एलेक्स हकले जानकारी दिए ।
अहिले अस्ट्रेलियाका आप्रवासीले आफ्नो परिवार अस्ट्रेलिया लैजान चाहेमा प्रवेशाज्ञाको लागि लामो समय कुर्नुपर्ने अवस्था छ। तर नयाँ व्यवस्थाअनुसार आप्रावासीका परिवारले लामो समय नपर्खिकनै पाँच वर्षका लागि अस्थायी प्रवेशाज्ञा पाउने भएका हुन् । प्रवेशाज्ञाका लागि तोकिएको रकम भने आप्रवासीले बुझाउनुपर्नेछ ।
आप्रवासीहरुलाई आफ्ना परिवारसँग सँगै रहन हामी सहयोग गर्न चाहन्छौं, त्यसका लागि अस्ट्रेलियाको स्वास्थ्य प्रणालीले कुनै असर गर्ने छैन, सहायक मन्त्री हकले भने ।
अस्ट्रेलिया सरकारले तत्काल १ हजार ५ सय आप्रवासीका परिवारलाई प्रवेशाज्ञा दिने तयारी गरेको छ। सरकारले घोषणा गरेको यो निर्णय आगामी जुलाई २०१७ देखि मात्रै लागू हुनेछ । रासस-सिन्ह्वा
Australia
visa
