News

'प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता लिन्न' - उपप्रधानमन्त्री निधि

'प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता लिन्न' - उपप्रधानमन्त्री निधि
असोज - ८ । टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको मनोबल गिर्ने गरी मुद्दा फिर्ता नलिइने बताएका छन् । bimalendra nidhi राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने निर्णय भइनसकेको बताए । राजनीतिक सहमतिको बहानामा टीकापुर नरसंहारमा संलग्न अभियुक्तहरूको मुद्दा फिर्ता लिने गृहमन्त्रीको तयारीको चौतर्फी आलोचना भइरहेका बेला उनले प्रहरी अधिकारीहरूसँग आफ्नो बचाउ गरेका हुन् । गृहमन्त्रीले प्रहरीको मनोबल गिर्ने गरी कुनै घटनामा पनि मुद्दा फिर्ता नलिइने अनौपचारिक प्रतिबद्धता प्रहरी अधिकारीहरूसँग गरेका थिए । आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहाल प्रचण्डले मधेस आन्दोलन र त्यसका परिणामलाई राजनीतिक घटनाक्रम भन्दै त्यस क्रममा लागेका झुटा मुद्दा फिर्ता गराउने सहमति मधेसी मोर्चासँग गरेका थिए । मन्त्री निधिले समेत गृह मन्त्रालयका अधिकारी र प्रहरीसँग भएका कतिपय बैठकमा टीकापुर नरसंहारलाई राजनीतिक घटनाक्रम भन्दै आएका छन् । उनले टीकापुर घटना पनि राजनीतिक घटना भएकाले त्यसमा संलग्न व्यक्तिको समेत मुद्दा फिर्ता हुने बताउँदै आएका थिए । गृहमन्त्रीको जिम्मेवारी समालेपछि निरीक्षण भ्रमणमा नक्सालस्थित प्रहरी मुख्यालय पुगेका गृहमन्त्री निधिले शुक्रबार टीकापुर घटनामा संलग्नहरूको मुद्दा फिर्ता लिने आफ्नो मनसाय नभएको बताए । मधेसी मोर्चाले दिनहुँझैं सरकारलाई मुद्दा फिर्ता लिने निर्णय गर्न दबाब दिँदै आएको छ । मन्त्री निधिले अघिल्लो शनिबार गृह मन्त्रालयमा पत्रकारहरूसँग दसैंअगावै मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिहरूलाई लगाइएको झुटा मुद्दा फिर्ता लिने बताएका थिए ।

Bimalendra Nidhi firta linna mudda Police

विशेष