News

विराटनगरमा गाडीको सिसा फुटाएर बैँककाे २५ लाख लुटियो

विराटनगरमा गाडीको सिसा फुटाएर बैँककाे २५ लाख लुटियो
असोज ११ । विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलबार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ । नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो । bus तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर किनमेल गर्न निस्केको बेला २५ लाख रुपैयाँ लुटिएको छ । नगर प्रहरी कार्यालय, विराटनगरका डिएसपी संजयसिंह थापाले गाडीबाट पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा झिकाएको छ । ‘गाडीको पछाडिको सिसा फुटेको छ,’ डिएसपी थापाले भने,‘हामीले अनुसन्धान गरिरहेका छौं।’ पैसा लुटिएको विराटनगरको अति व्यस्त ठाउँ हो । नजिकैको बुद्धहाट चोकमा प्रहरीको २४ घण्टा पहरा हुन्छ । ‘गाडीबाट पैसा लुटिएको भनिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले भने, ‘घटनाको डिटेल आइसकेको छैन, अनुसन्धान भइरहेको छ ।’ पैसा लुटिएको घटनाको अनुसन्धान गरिरहेका एक डिएसपीका अनुसार कसले पैसा लुट्यो, उसको हुलिया कस्तो थियो, कसैले देखेको छैनन् । ‘हामी वरिपरिका पसले र सर्वसधारणसँग सोधीखोजी गरिरहेका छौं,’ उनले भने, ‘सुराग पाउन समस्या भइरहेको छ।’ बैंकको पैसा लुटिएको घटनालाई प्रहरीले ‘शंकास्पद’ तरिकाले पनि अनुसन्धान गरिरहेको जनाएको छ । बिप्लटमा पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो। गाडी चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको सिसा फुटाई रकम लुटेका हो। डेभलपमेन्ट बैंकका चालक र अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर आएका थिए ।

Bank Biratnagar paisa

विशेष