News

चितवनमा २१ जनामा डेङ्गु रोगको सङ्क्रमण

चितवनमा २१ जनामा डेङ्गु रोगको सङ्क्रमण
असोज ११ । चितवनमा पुनः डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । एक महिनामै २१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ । dengue जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माका अनुसार १५० जनाको रगत परीक्षणमा २१ जनामा डेङ्गु पाइएको हो । बैशाखदेखि साउनसम्म यहाँ डेङ्गु देखिएको थिएन । अघिल्लो वर्ष भदौ महिनामा जम्मा पाँच जनामा मात्रै सङ्क्रमण भएको थियो । भदौको पहिलो सातादेखि असोजको अहिलेसम्म करिब एक महिनाको अवधिमा २१ जनामा सङ्क्रमण भएको पाइएको र त्यसमा ११ जना महिला रहेका छन् । पुष्टि भएकामा दुई जना मात्रै बाहिरी जिल्लाका रहेका छन् । जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले सङ्क्रमितमध्ये १२ जना रत्ननगरका बिरामी फेला परेको बताए । ’यसपालि रत्ननगर नगरपालिका क्षेत्रमा धेरै पाइएको छ, त्यसैले सचेतना कार्यक्रम सुरु गरेका छौँ,’ केसीले भने, ’कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको टोलीले समेत डेङ्गुको अवस्थाको अध्ययन गरेको छ ।’ डेङ्गु रोगको सङ्क्रमण बढ्ने आशङ्कामा अहिले निःशुल्क परीक्षणका लागि सरकारले भरतपुर अस्पताललाई ५० वटा डेङ्गु कीट उपलब्ध गराएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत चितवनमा डेङ्गुको निःशुल्क परीक्षणका लागि ५० वटा कीट उपलब्ध गराइएको हो । २०६७ सालमा चितवनमा महामारीको रुपमा फैलिँदा डेङ्गु रोगका कारण पाँच जनाको मृत्यु भएको थियो भने ७३९ जना बिरामी भएका थिए। अघिल्लो वर्ष ८५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले भाडाको पानी जम्न दिनुहुँदैन । - रासस

Chitwan dengu

विशेष