विदेश

क्लिन्टन र ट्रम्पबीच आरोप प्रत्यारोप

क्लिन्टन र ट्रम्पबीच आरोप प्रत्यारोप
असोज - ११ । आगामी नोभेम्बरको राष्ट्रपति चुनावअघि भएको पहिलो प्रत्यक्ष बहसमा डेमोक्याटिक पार्टीकी हिलरी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले एकअर्काको चर्को आलोचना गरेका छन् । donald-vs-clinton   टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त बहस अर्थतन्त्र, कर प्रणाली, जातिगत मुद्दा र सुरक्षामाथि केन्द्रित थियो । क्लिन्टन सरकारमा हुँदा उनले लिएको नीतिका कारण अमेरिकाले धेरै समस्या भोगिरहेको ट्रम्पले आरोप लगाएका छन् । ट्रम्पले राष्ट्रपति हुनका लागि निरन्तर खटिरहने शक्ति नरहेको पनि बताए। क्लिन्टनले भने ट्रम्पलाई आफ्नै संसारमा हराइरहेको र करबारे ढाकछोप गरेको आरोप लगाइन् । ट्रम्पले त्यसको जवाफमा कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताए। तर त्यसका लागि उनले शर्त राख्दै, “ क्लिन्टनले आफू विदेशमन्त्री हुंदाका तीस हजार इमेल सार्वजनिक गरेलगत्तै म पनि करसम्बन्धी विवरण सार्वजनिक गर्छु”। करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी मानिसले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ । उक्त संख्या त्यस्तो बहस हेर्ने हालसम्मकै सबैभन्दा ठूलो हो । एनबीसी न्यूजका लेस्टर होल्टले दुई प्रत्यासीबीच बहस गराएका थिए । पछिल्ला मत सर्वेक्षणहरुले दुई प्रत्यासीबीच तीव्र प्रतिस्पर्धा देखाएको छ। त्यसमा क्लिन्टन झिनो अन्तरलेमात्रै अगाडि रहेको देखिन्छ। जनमत आफूतिर पार्न राष्ट्रपतीय बहसहरु निकै महत्वपूर्ण मानिन्छन्। ५६ वर्षअघि आजकै दिन जन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तोखाले बहस भएको थियो।

donald tromp hilary clinton interview

विशेष