अर्थ ताजा खबर News

सुन जस्तै महंगो नुन

सुन जस्तै महंगो नुन

salt असोज १२ । तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पाेरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो ।\

ढुवानी भाडाले आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । ‘नुन पनि सुनजस्तै महँगो भयो, आयो नुन त अब हुनेखानेले मात्र प्रयोग गर्छन्,’ काँडा धुली गाउँका लालसिंह बोहराले भने, ‘महँगो भएकाले सबैले त्यो नुन खान सक्ने अवस्था छैन ।’

गाउँका केही परिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरिरहेको र अरू बाँकी तिब्बती ढिके नुनकै भरमा बाँचिरहेको उनले बताए । तिब्बतबाट भेडामा ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ छ । आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ ।

खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो भएको यहाँका व्यापारी जयपाल लामाले बताए । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनको भनाइ छ ।

‘भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न जान्छ,’ उनले भने, ‘भाडा नै त्यति तिरेपछि हामीले कतिमा बेच्नु ? यहाँ पोकाको नुन खान सक्ने परिवार नै कम छन् ।’ खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको छ

कान्तिपुर

Salt

विशेष