ताजा खबर मुख्य समाचार News

पूर्वमन्त्री घिमिरेको जिप नभेटिनुको कारण यस्तो छ (फोटो फिचरसहित)

पूर्वमन्त्री घिमिरेको जिप नभेटिनुको कारण यस्तो छ (फोटो फिचरसहित)

fअसोज १२ । आइतबार दिउँसो चार बजे पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे, परिवारका सदस्य र अन्य गरी सात जना सवार जीप त्रिशुलीमा खस्यो । त्रिशुलीमा खसेको जिपसहित तीन जना अझै बेपत्ता छन् । तीनजनाको त त्यही दिन निधन भयो । एक घाइते छन् । जिप त्रिशुलीमा खसेपछि खोजी त्यही दिनदेखि शुरु गरियो । यातायात व्यवस्था दर्दनाक भएको मुलुकका यातायात मन्त्री रमेश लेखक सोमबार घटनास्थल पुगेर भने, ‘बंगलादेशबाट गोताखोर ल्याएर भए पनि बेपत्ताको खोजी गर्छौैं ।’

मंगलबार हाम्रो टोली घटनास्थल पुग्यो । खोजीमा संलग्न नेपाली सेनाका क्याप्टने भरत बुढाथोकीले खोजतलासबारे जानकारी दिँदै भने, ‘यो नदी हेर्दा शान्तपूर्वक विस्तारै बगेजस्तो देखिन्छ । तर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र ठीक विपरीत छ । पानी मुनी बहाब उच्च छ । एक ठाउँमा डुबुल्की मारेर निस्किँदा ३० हात तल पुगिसकिएको हुन्छ ।’

gक्याप्टेन बुढाथोकीको भनाइको सिधा अर्थ थियो– पानीको उच्च बहावका कारण गोताखोरलाई काम गर्न अति कठिन छ । जोखिम पनि यस्तै छ । नेपालको भूगोल बुझेका नेपाली गोताखोरले नसकेको काममा विदेशी ल्याउनु भनेको भूकम्पका बेला अमेरिकी सेनाले भोगेको दुःख दोहोर्याउनु सरह हो ।

यो तथ्य बुझ्दै नबुझी यातायात मन्त्रीले बंगलादेशबाट गोताखोर ल्याउँछौं भनिदिए । सवारी दुर्घटना न्यूनिकरणका लागि सानो भए पनि यो काम गर्छौ भनिदिएको भए राम्रो हुने थियो । तर मन्त्री लेखकले बेतुकको कुरा बोलेर फर्किए ।

पूर्वमन्त्री घिमिरेको जीप जुन भिरबाट फिल्ममा देखाइने झै उडेर नदी किनारको भिरालो जमिनमा ठोकिएको थियो । त्यहाँबाट अर्को पट्टि गुल्टेर नदीमा खसेको अनुमान गरिएको छ । ठीक त्यही ठाउँमा केही महिना अघि एउटा मालबाहक ट्रक पसेको थियो । न ट्रक फेला पर्यो, न चालक र सहचालक । सिंगो ट्रक नै बेपत्ता हुने त्रिशुलीमा अहिलेको स्करपिओ जिप फेला पार्न मुस्किल नै छ । तर पनि नेपाली सेना, सशस्त्र प्रहरीको टोली नदीमा अनवरत खटिएको छ ।

abcनेपाली सेनाले जिपको खोजीकालागि चार विधि अपनाएको छ । पहिलो विधि भनेको डोरीमा चुम्बक बाँधेर नदीको पिँधमा पुर्याएर जिप खोज्नु हो । दोस्रो विधि भनेको तारमा हुक बाँधेर पानीमा डुबाउने र केही वस्तु अड्किएमा तान्ने हो । मंगलबार एउटा हुकमा केही वस्तु अड्कियो । सेनाले आफ्नो प्रविधि प्रयोग गरेर तान्यो । तर अन्तिममा हुक नै बांगियो । कुनै वस्तु आएन । वास्तवमा हुक ढुंगामा अड्किएको रहेछ । जिप डुबेको क्षेत्रमा नदीको गहिराई करिब ३० फिट छ । अर्थात तीन तल्ले घर डुब्ने जति ।

अर्को विधि भनेको गोताखोर आफै पानी मुनी गएर खोज्ने हो । यो विधि अहिले उपयुक्त देखिएको छैन । चौथो विधि भनेको पानीमुनी क्यामेर लैजाने र माथिबबाट क्यामेराले पठाएको दृश्य हेर्ने हो । यो विधि पनि प्रभावकारी भएको छैन । सेनाका क्याप्टेन बुढाथोकी भन्छन्, ‘पानी धमिलो छ । दृश्य सफा छैन । क्यामेरा काम लागेन ।’

14483670_10209174240987349_125660055_nत्रिशुली धमिलो छ भन्नुको मतलव हुन्छ, पानीमा माटो र बालुवाको मात्रा बढी छ । जीप नदीको पिँधमा पुगेको र माटो बालुवाले पुरिएको अनुमान पनि गरिएको छ । दुर्घटनाग्रस्त क्षेत्रबाट धेरै पर जीप बगेर पुगेको विश्वास गरिएको छैन । किनभने सो क्षेत्रबाट ५० मिटर तल नदीले मोड लिएको छ । जहाँबाट जीप बगेर अगाडि जाने सम्भावना कम छ ।

चानचुन मान्छेको जीप त्रिशुलीमा खसेको भए आज चौथोदिनसम्म फेला नपरेको भनेर खोजी नै बन्द भइसक्ने थियो । जस्तो कि सप्तकोशीको श्रीलंका टापुबाट कोशी तर्ने क्रममा डुंगा पल्टिँदा ९ जना बेपत्ता भएका थिए । संख्याको हिसाबले त्रिशुली घटनाभन्दा डुंगा पल्टिँदा नौ जना बेपत्ता भएको घटना महत्वपूर्ण हो । तर यी दुई घटनामा परेका व्यक्तिहरुको वर्गको कारण सरकारको हेर्ने दृष्टिकोण पनि बर्गीय भएको छ । घिमिरे माथिल्लो बर्गका र सप्तकोशीमा हराउने तीन निरीह नेपाली तल्लो बर्गका नागरिक थिए । कुनै बेला अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक ‘जनयुद्ध’ सञ्चालन गर्नुको मतलव बर्गीय विभेदको अन्त्य हो भन्ने गर्थे ।

घटनास्थल काठमाडौदेखि सय किलोमिटर दुरीमा छ । अझ बुझिने गरी भन्नु पर्दा केबुलकार चढ्ने ठाउँदेखि अलिकति तल, मुग्लिङदेखि अलिकति माथि भिरको बाटोमा पर्छ । जहाँबाट घिमिरको जिप नदीमा खसेको थियो, त्यो भिरदेखि ५–७ मिटर पर राजमार्गको छेउमा ‘अति खतरापूर्ण क्षेत्र’ भन्ने त्रिकोण बोर्ड राखिएको छ । तर यो बोर्ड दूर्घटना नहोस् भनेर होइन, औपचारिकता पूरा गर्ने उद्देश्यले राखिएको जस्तो लाग्छ । किनभने बोर्डको रङ यति धुमिल छ कि रुख बुट्यानको रङमा बोर्ड नै हराउँछ ।

धरापजस्तो खण्डमा केही महिना अघि मालबाहक ट्रक झरेर बेपत्ता भएपछि सजगताका नाममा केही पनि गरिएको रहेनछ । सडक किनारमा फलामे रेलिङ पहिले नै लगाइएको रहेछ । रेलिङ भाँचिएपछि फेरि मर्मत गरिएको थिएन । यदि रेलिङमात्रै बनाइएको भए घिमिरेको जिप सुरुमा रेलिङमा ठोक्किने थियो । रेलिङमा ठोक्किएपछि जिपको गति कम हुन्थ्यो । जिप उछिट्टिएर सोझै नदि किनारमा पूग्ने थिएन । अझै भनौ पानीसम्म पुग्ने सम्भावना कम हुन्थ्यो । ज्यानको ग्यारेन्टी नभए पनि लाशै हराउने अवस्था हुने थिएन । यस अर्थमा भन्नुपर्छ जिम्मेवार निकायको लापरबाहीको परिणाम हो अहिलेको घटना ।

14424087_10209174241027350_1910001787_oमदन भण्डारीको जिप दुर्घटना यता पनि कैयन दुर्घटना पृथ्वीराजमार्गमा भएका छन् । त्रिशुली नदी भेट्ने राजमार्गमा पनि धेरै दुर्घटना भए । धेरै मान्छे बेपत्ता भए । ट्रक नै हराउने त्रिशुलीमा मान्छेको शरिर हराउने अनोठो पनि भएन । तर यतिका वर्षसम्म यतिका दूर्घटना हुनु, यति धेरै मान्छेको ज्यान जानु, कैयन बेपत्ता हुँदासम्म पनि यो सडकमा सजगताका लागि के के विधि अपनाइयो त ?

काठमाडौंदेखि मुग्लिङसम्म मोटरसाइकलमै जाँदा कहिँ कतै कुनै नियम पालना गर्नु पर्ने आवश्यकता देखिएन । यदि यो सडकमा सवारी चलाउँदा कुनै नियम पालना गरेन भने कारबाही पनि कसैले गर्दो रहेनछ । निगरानी गर्ने निकाय पनि छैन । सवारी साधनमा टाइम कार्ड व्यवस्था लागू गर्न खोज्दा ‘पुलिसलाई घुस खान सजिलो हुन्छ’ भनेर त्यो व्यवस्था नै नराखिएको सुनियो ।

aजुन बेला यो सडक बनाइयो, त्यो बेला सवारीको चाप कम थियो । अहिले थामिनसक्नु छ । तराईबाट काठमाडौं पस्ने अर्को बिकल्प विपी राजमार्ग हुन सक्थ्यो । कताको बतास चल्यो भन्न सकिन्न । सडक सिंगल लेनको बनाएको छ । विपी राजमार्ग डबल लेनको भएको भए पृथ्वीराजमार्गको चाप आधा कम हुने थियो । डबल लेन बनाउन भारतले दिएन भन्ने हल्ला पनि सुनिन्छ । अर्को प्रस्तावित फास्ट ट्रयाकमा भारतले लगाएको गिद्धे नजर खुलेआम गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रष्फुटन भएको देख्दा त विपी राजमार्गमा पनि ‘दक्षिणको वायु चलेको हो कि जस्तो लाग्छ ।’

dनेपालमा पर्याप्त सडक छैनन । भएकामा पनि कुनै सिस्टम छैन । सिस्टम बसाल्न एक जनाले होइन संयन्त्रले हो । तर संयन्त्र चलाउने एक जनाले नै हो । निर्णय लिने एक जनाले नै हो । त्यो संयन्त्र चलाउने निर्णय लिने ठाउँमा माधवप्रसाद घिमिरे पनि पुगेका थिए । उनी गृह सचिव भए, मुख्य सचिव भए, गृहमन्त्री नै पनि भए । सिस्टम राम्रो बनाउने पर्याप्त अवसर उनलाई प्राप्त थियो । तर उनले के के गरे होलान !

–केही तस्बिर नेपाली सेनाको सौजन्यमा ।

विशेष