साझाले काठमाडौंबाट गोरखा र बागलुुङ बस सेवा सुरु गर्ने

असोज - १२ । साझा यातायातले काठमाडौंबाट दुईवटा बस काठमाडौंबाट गोरखा र बागलुङ सेवा सुरु गर्ने भएको छ । लामो समयदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा पुनः लामो रुटमा जाने तय भएको हो ।
असोज १६ गतेदेखि साझाका बसहरु गोरखा र बाग्लुङको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् ।
एक दशकपछि साझाका बसहरु लामो रुटमा चल्न लागेका हुन् । यात्रुहरुको सहजताका लागि दशैंको अवसरमा नै बस सेवा सुरु गरिएको पाण्डेयले बताए । बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछन् ।
नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तव्यतर्फ लाग्ने छ । गोरखाका लागि भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे छुट्नेछ ।
टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले बताए ।
यी रुटमा अब साझाका नियमित बस चल्नेछन् । यी दुबै रुटमा यातायात व्यवस्था विभागबाट साझाले रुट इजाजत पाइसकेको छ । गोरखा र बाग्लुङबाट साझाले काठमाडौंमा पनि यात्रु ल्याउनेछ ।
साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ बस थपिएसँगै हाल साझासँग ४६ वटा छन् ।
Baglung
bus sewa
Gorkha
kathmandu
Sajha Yatayat
