कार्यालय सहयोगीका भरमा छोटी भन्सार

असोज - १३ । कञ्चनपुरको बेलौरीमा रहेको छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ ।
विगत एक वर्षभन्दा बढी समयदेखि बेलौरी छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीका भरमा चलेको छ । मासिक रु ६० देखि ७० हजार राजस्व सङ्कलन हुने गरेको उक्त छोटी भन्सार हाल कार्यालय सहयोगी पदमबहादुर थापाले सञ्चालन गरिरहेका छन् ।
“एक महिनामा दुई जना कार्यालय सहयोगीबाट १५-१५ दिन भन्सार चलाउँछौँ ।” कार्यालय सहयोगी थापाले भने– “मैले हाकिम नपाएको एक वर्षभन्दा बढी भइसक्यो ।”
भारतीय खजुरिया नाकासित जोडिएको बेलौरी छोटी भन्सार द्वन्द्वकालपछि गति लिन सकिरहेको छैन । बेलौरी क्षेत्रका उद्योगी, व्यवसायी र व्यापारीले उक्त नाकालाई बृहत् रुपमा सुचारु गर्न माग गरे पनि भन्सारको अवस्था भने नाजुक देखिएको छ ।
जिल्लाको प्रमुख भन्सार कार्यालय गड्डाचौकीले पनि छोटी भन्सार व्यवस्थापन र कर्मचारी खटाउन ध्यान नदिएको बेलौरीका एक व्यवसायीले गुनासो गरेका छन् । “कार्यालय सहयोगीले राजस्व सङ्कलन गर्दैछन् ।” ती व्यवसायीले भने– “भन्सारमै सुरक्षा संयन्त्र फितलो छ अन्तको के कुरा गर्नु । - रासस
Belauri Choti Bhansar
Kanchanpur
