News

मुस्ताङमा स्याउको उत्पादन घट्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो

असोज १३ । मुस्ताङमा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ। सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। 

 

लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो । अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पुर्या‍इसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ । जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि ३५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो। बर्सेनी स्याउ उत्पादन एकनासले हुने गरेको छ,वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले भने।

 

जिल्लाका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुन्छ। जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड, फुजी, न्यूरोयल, मुत्सु, अ‍ैकिन, बिनौनी, साउने, राइमर, अम्री, रेड गोल्ड, ब्रामे र चकलेटलगायतका प्रजातिका स्याउ उत्पादन हुने गर्दछन्। यस वर्ष किसानले व्यापारीलाई बोटबाटै प्रतिकिलो ८० देखि १०० रुपैयाँमा स्याउ बिक्री गरेका छन्। किसानले स्याउबाट बर्सेनि रु एक लाख देखि रु एक करोडसम्म आम्दानी गर्दै आएका छन्।

Mustang Syau

विशेष