News

संविधान कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीद्वारा प्रेसलाई आग्रह

संविधान कार्यान्वयनमा सघाउन प्रधानमन्त्रीद्वारा प्रेसलाई आग्रह
असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि दलीय आग्रह नराखी जारी संविधानलाई कार्यान्वयनमा सहयोग गर्न आम सञ्चार क्षेत्रसँग आग्रह गरेका छन् । pushpa-kamal-dahal1 प्रेस सेन्टर, नेपालको प्रथम राष्ट्रिय एकता अधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने – “संविधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने भूमिका खेल्न प्रेस जगत्लाई अपिल गर्न चाहन्छु ।” उनले संविधानमार्फत सिङ्गो मुलुकलाई एकताबद्ध र मजबुत गर्न आफूले चाहेको बताउँदै भने – “कुनै राजनीतिक आग्रह र पूर्वाग्रहका कारण राष्ट्रिय एकता बिथोलिने भएमा प्रेसले त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ ।” प्रेसले आगामी १८ महिनाभित्र तीन चरणको निर्वाचन गर्ने कार्यलाई सघाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । भूकम्पपछिको पुनःनिर्माण कार्यलाई पनि द्रुत गतिमा लैजान सरकारले पहल गरिरहेको उल्लेख गर्दै उनले पुनःनिर्माणका साथै अन्य विकास निर्माणका काममा पनि प्रेसको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । प्रजातन्त्रको पुनर्बहाली र गणतान्त्रिक आन्दोलनमा प्रेसले खेलेको भूमिका सूचना तथा सञ्चारमन्त्री सुुरेन्द्रकुमार कार्कीले श्रवजीवी पत्रकारको मुद्दालाई आफूले सम्बोधन गर्ने वचनबद्धता प्रकट गर्दै उनीहरुको जीवनस्तर माथि उठाउन पहल गर्ने बताए । उनले भने – “तोकिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक हामी कार्यान्वयन गर्छौं ।” उनले पत्रकारले खवरदारी नगरेमा लामो सङ्घर्षबाट प्राप्त उपलब्धि प्रजातान्त्रिक गणतन्त्र खतरामा पर्ने भन्दै त्यसका लागि सिर्जनशील आलोचना आवश्यक हुने बताएका हुन् । सत्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न र सामान्य विषयलाई अनावश्यक रुपमा प्रचार नगर्न उनले प्रेससँग आग्रह गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजनीतिक मुद्दा पेचिलो बन्दै गर्दा प्रेसका मुद्दामा ओझेलमा पर्न नहुने बताए । उनले आमसञ्चार नीति एवम् श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सरकार प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिए । कार्यक्रमका अध्यक्ष एवम् प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले सङ्गठनलाई गतिशील बनाएर नयाँ भावनासहित अगाडि बढाउने विश्वास दिलाए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका आचार्यले नयाँ परिवेशमा प्रेस सेन्टरले जनपक्षीय पत्रकारितालाई अगाडि बढाउन पहल गर्ने बताए । अधिवेशनको सफलताका लागि शुभकामना दिँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्कीले जनअपेक्षाअनुसार पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले आर्थिक रुपमा सञ्चारमाध्यम सबल भएपछि मात्र पत्रकार सबल हुने भएकाले त्यसका लागि राज्यले उपलब्ध गराउने समानुपातिक विज्ञापनलाई समानुपातिक रुपमै वितरण गर्नुपर्ने धारणा राखे । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतले अधिवेशनको सफलताको कामना दिँदै शान्ति सम्झौताका साझेदार पार्टी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर संविधान कार्यान्वयनका लागि अगाडि बढेको सन्दर्भमा युनियन र सेन्टर पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। -रासस

media Patrakar pm pushpa kamal dahal prachanda

विशेष