ताजा खबर विदेश News

भारत पाक युद्धको संकेत, सीमा क्षेत्रको १० किमीसम्म नबस्न नागरिकलाई अपिल

भारत पाक युद्धको संकेत, सीमा क्षेत्रको १० किमीसम्म नबस्न नागरिकलाई अपिल

india_pak

असोज १४ । भारतीय सेनाले पाकिस्तानी भूमिमा गएर ठूलो संख्यामा आतंकवादी मारेको दाबी गरेका छन् । भारतीय सेनाले गरेको कथित ‘सर्जिकल स्ट्राइक’मा कम्तीमा पनि ३८ आतंकवादी र दुई जना पाकिस्तानी सैनिक मारिएको दाबी गरिएको हो ।

सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतङ्कवादीको इलाकामा हमला गरिएको बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएका थिए । उनले राष्ट्र बचाउनका लागि सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सर्जिकल स्ट्राइक गर्नुपरेको बताएका थिए । उनका अनुसार सीमा नियन्त्रण रेखामा आतङ्कवादीहरु जम्मा हुँदैछन् भन्ने जानकारी पाएपछि भारतीय सेनाले बुधवार राति उनीहरुविरुद्ध कारबाही गरेको हो ।

यता पाकिस्तानले भने भारतले आफ्नो भूमिमा घुसेर कारबाही गरेको भन्ने दाबी सत्य नरहेको बताउँदै बोर्डरबाटै भारतीय सेनाले गरेको फायरिंगमा परी आफ्ना दुई सैनिक जवान मारिएको पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमले पाकिस्तानको सीमाबाट भारतीय सेनाले दुई किमि भित्र पसेर गरेको चार घण्टा लामो कारबाहीमा ४० जना आतंकवादी मारिएको भन्दै समाचार सम्प्रेषण गरिरहेका बेला पाकिस्तानी सेनाले त्यसलाई नकारिदिएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने सस्तो मिडियाबाजी गरेर भारतले विश्वलाई ढाँटिरहेको आरोप लगाएका हुन् ।

भारतीय सेनाका २५ कमाण्डोहरु पाकिस्तानको सीमा नाघेर गएर आतंकवादीहरुको सातवटा लञ्च प्याड नष्ट गरेको बताएका छन् । लञ्च प्याडको सुरक्षामा तैनाथ पाकिस्तानी सेनाका दुई जवान समेत गरी ४० जना मारिएको दाबी भारतीय मिडियाले गरेका छन् । यस्तै सात वटा आतंकवादी ठेगानको पनि नष्ट गरिएको भारतीय सेनाको दाबी छ ।

१० किमि सीमा क्षेत्रमा मानिसहरुलाई बस्न रोक

यसैबीच, पाकिस्तानसँग सीमा जोडिएका भारतका चार राज्यका सीमाक्षेत्रमा बसोबास गर्नेहरुलाई १० किमि क्षेत्रमा बस्न रोक लगाइएको छ । त्यस्तै उक्त क्षेत्रमा कार्यरत भारतीय सुरक्षाकर्मीहरुको विदा समेत रद्द गरिएको भारतीय मिडियाले बताएका छन् ।

गत सेक्टेम्बर १८ भारत प्रशासित काश्मिरको उरीमा भएको हमलामा परी १८ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाव बढेको हो । उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आए पनि पाकिस्तानले भने सो आरोपको खण्डन गर्दै आएको छ । यसअघि सन् २००३ मा यी दुई मुलुकले युद्धविरामको घोषणा गरेका थिए ।

India Pakistan

विशेष