ताजा खबर News

शुल्क बढाएको भन्दै अनेरास्ववियुले विरोध गर्योे

शुल्क बढाएको भन्दै अनेरास्ववियुले विरोध गर्योे

Aneraswobiu

असोज १४ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विहिबार विरोध जनाएको छ । बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थिक भार थोपरिने गरी शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

सञ्चालक समितिले स्नातक तहमा मासिक शुल्क ६ सय ७५ रुपैयाँबाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, तेस्रो वर्षमा एक हजार र चौथो वर्षमा एक हजार एक सय रुपैयाँ शुल्क बनाएपछि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको अनेरास्ववियु म्याग्दी बहुमुखी मूल इकाई समितिमा सचिव ईश्वर सुवेदीले बताए ।

‘यसअगाडि भर्ना शुल्क तीन हजार दुई सय रुपैयाँबाट बढाएर चार हजार दुई सय रुपैयाँ बनाइयो, पुस्तकालय, खेलकुद लगायतका अन्य शुल्क पनि बढाइसकिएको छ, फेरि अहिले आएर मासिक शुल्क मनोमानी तवरले बढाइएको छ, यसले क्याम्पसमा अध्ययन गर्ने आम विद्यार्थी मर्काका छन,’ सुवेदीले भने ।

अनेरास्ववियुले क्याम्पसले शुल्क वृद्धि गरेको विरोधमा बिहीबार क्याम्पसमा विरोध सभासमेत गरेको छ । सभामा अनेरास्ववियुका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले क्याम्पसको घाटा पूर्ति गर्न विद्यार्थीको शुल्क वृद्धि मात्रै गराउनु दुर्भाग्यपूर्ण रहेको भन्दै क्याम्पसले आम्दानीका लागि अन्य स्रोतको पनि पहिचान गर्नुपर्ने बताए ।

उनले हरेक वर्ष हुने तलब वृद्धिलाई पूर्ति गर्न विद्यार्थीलाई शुल्क बढाउने गरिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । यसअगाडि अनेरास्ववियुले बुधबार नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी गरिब तथा विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने म्याग्दी बहुमुखी क्याम्पसमा भारी शुल्क वृद्धि गरिएको भन्दै विरोध जनाएको थियो ।

Student Union

विशेष