News

एक दम्पतिले आफ्नो काजक्रिया र श्राद्ध आफैँ गरे

एक दम्पतिले आफ्नो काजक्रिया र श्राद्ध आफैँ गरे
असोज १४ । कुशको दुई वटा प्रतिकात्मक लाशका पछाडि मलामी थिए । तमोर नदि किनारमा तयार गरिएको चितामा धार्मिक विधि अनुसार कुशको लाशको अन्त्यष्टि पनि गरियो । मलामी जानेमा केहि आफन्तजन र जसको प्रतिकात्मक लाश थियो, तिनै व्यक्ति पनि सहभागि थिए । pinda-dan सामान्यतः मृत्युपछि मानिसको अन्त्यष्टि गरिन्छ । तर, यहाँका एक दम्पतिले आफु जीवित छँदै कुशको लाश बनाई अन्त्यष्टि र काजक्रिया समेत गरेका छन् । पछिल्लो समय सन्तान टाढा हुने क्रमसंगै वृद्धवृद्धामा आफ्नो शेषपछि धार्मिक विधिले काजक्रिया हुनेमा समेत आशंका पैदा गराएको छ । यसैको एउटा नमुना यतिबेला मुलघाटमा देख्न सकिन्छ । बिहीबारदेखि तमोर किनारमा ७७ वर्षीय अग्नीप्रसाद बराल र उनकी ७० वर्षिया पत्नि लक्ष्मी आफ्नै काजक्रिया विधिपूर्वक गरिरहेका छन् । कुरुलेतेनुपा ४ घर भई हाल झापाको दमकमा बसोबास गर्दै आएका बराल दम्पतिले हिन्दूविधि अनुसार ‘जीवश्राद्ध’ गराएका हुन् । नदि किनारमा बालुवा माथि बसेका उनीहरुले आफ्नै लागि आफैं पिण्ड समेत दान गरेका छन् । संस्कृतमा आचार्य गरेका अग्नीप्रसादले आफु जीवित छँदै अन्त्यष्टि र काजक्रिया गर्न सकिने दाबी गरे । हातमा पिण्ड बोकेर काजक्रियामा व्यस्त रहेका उनले जीवश्राद्ध गर्ने धार्मिक विधि भएपनि प्रचलनमा भने नआएको बताए । वि.सं. २०५८ सालमा तत्कालिन विद्रोही समुह माओवादीले गोली प्रहार गर्दा गम्भिर घाइते भएको उनले जीवनको उत्तरार्धमा जीवश्राद्धको निर्णय लिएको जानकारी दिए । २ छोरा, ३ छोरी र दर्जन नातिनातिना रहेका बराल दम्पत्तिले अधिकांश सन्तान कार्यव्यस्तताले टाढिनेक्रम बढेको बताए । ‘मृत्युपछि गरिने सबै कर्म जीवित छँदै गरेर ढुक्कले मर्न पाइने भो’, उनले भने, ‘जीवनको के भर छ र ? अनि मरेपछि विधिपूर्वक काजक्रिया नहुन पनि सक्छ ठानेर यसो गरिएको हो ।’ सयौं धार्मिक कर्मकाण्ड गरिसकेका स्वयं अग्नीप्रसादले पनि जीवित छँदै यसरी काजक्रिया भने नगराएको बताए । धार्मिक शास्त्र अनुसार जीवश्राद्धको पद्धति रहेपनि यसको प्रचलन खास नभएको पुरोहित पद्मप्रसाद काफ्लेले बताए । मरेपछि दशाक्रिया विधिपूर्वक गर्ने पण्डित नै पाउन छोडेको र सन्तानलाई पनि सहज बनाउन आफ्नो दशाक्रिया जीवितै छँदै गर्न पाएकोमा दम्पतिले खुसी व्यक्त गरे । आफ्नै अन्त्यष्टि र पिण्ड दान गर्ने कुरामा पत्नी लक्ष्मीले अस्वीकार गरेपनि धार्मिक मान्यताका कुरा बुझाएर सहमतिपछि निस्कर्षमा पुगेको उनीहरुले सुनाए । भारतको बनारसबाट संस्कृत साहित्यमा उच्च शिक्षा सकेर २०१८ सालतिर घर कुरुलेतेनुपा फर्किएका अग्नीप्रसादले धार्मिक तत्कालिन कतिपय कुरिति पनि तोडेको स्थानीयबासी खड्गप्रसाद काफ्लेले जानकारी दिए । उनले महिला मलामी जाने चलन, ब्राम्हणले हलो जोत्ने लगायतका प्रचलन सुरु गरेको स्थानीयबासीको भनाई छ । बराल दम्पतिको काजक्रियामा छोरी सरिता र ज्वाई गोपाल मात्र सहभागि थिए । अन्य सन्तान उपस्थित भएनन् । - कान्तिपुरबाट

dampatile gare pinda dan kajkriya mulghat

विशेष