विदेश

राजदूत पत्नी प्रहरीसंग सल्किएपछि.....

राजदूत पत्नी प्रहरीसंग सल्किएपछि.....
पुस १७ । ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् । अभियुक्तले आफू राजदूतको हत्यामा संलग्न रहेको भनी अपराध स्वीकार गरेका छन् । अन्ठाउन्न वर्षीय ग्रीक राजदूत काइरियाकोस अमिरिदिसको सोमबार ब्राजिलियाली प्रहरी अधिकृत सर्जिओ गोमेज मोरेइराले हत्या गरेको अनुसन्धानपछि पुष्टि भएको रियोका प्रहरी प्रमुख इमारिस्टो पोन्टिसले प्रेस सम्मेलन गरी जानकारी गराए । अमेरिदिसको मृत शरीर जलेको अवस्थामा उनकै भाडामा रहेको एक कारभित्र भेटिएको थियो । राजदूत अमिरिदिसकी पत्नी फ्राँस्वाँज डे सोउजा अलिभिएराले आफ्ना श्रीमान् बेपत्ता भएको खबर प्रहरीलाई उहाँ हराएको एक दिनपछि मात्र जानकारी गराएकी थिइन । ४० वर्षीय राजदूत अमिरिदिसकी पत्नी अलिभिएरा र उनका २९ वर्षीय ब्राजिलियन प्रहरी साथी मोरेइरा दुवैजनाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गरेकी छन् । रियो प्रहरीका अनुसार अलिभिएराले आफू उक्त हत्याकाण्डमा सहभागी भने नभएको बयान दिएकी छन् । यसै वर्ष ब्राजिलको राजदूतमा नियुक्त भएका अमिरिदिस आफ्नी पत्नीसहित पारिवारिक बिदामा उत्तरी रियो दि जेनेरियोमा गत डिसेम्बर २१ गतेदेखि गएका थिए । जनवरी ७ मा हवाई मार्ग हुँदै ब्राजिलको राजधानी ब्राजिलिया फर्किने कार्यक्रम रहेको थियो । राजदूतकी पत्नी अलिभिएराका अनुसार आफ्ना श्रीमान्ले रियोस्थित उनीहरु बसिरहेको कोठाबाट एउटा भाडाको कार लिएर बाहिर निस्केको तर पछि नफर्केपछि आफूले राजदूत हराएको सम्बन्धमा ब्राजिलियाली अधिकारीलाई जानकारी गराएकी थिइन । अलिभियराको भनाइमा शङ्का गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । यसैबीच ग्रीसले घटनाबारे अनुसन्धान अघि बढाउन ग्रीक प्रहरीसहितको एक अनुसन्धान टोली ब्राजिलतर्फ पठाएको छ । राजदूत अमिरिदिस यसअघि सन् २००१ देखि सन् २००४ सम्म महावाणिज्य दूत भएर जेनेरियो गएका बेला अलिभिएरासँग भेट भएको र पछि बिहे भएको थियो ।

Rajdoot

विशेष