सन् २०१६ का चर्चित घटना, ट्रम्पको उदय देखी दुई राष्ट्रपतिलाई महाभियोग सम्म
सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन। चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो । यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो र त्यो भन्दा पनि ठूलो चर्चा त उनको विजयको भयो, जसले संसारका धेरै विज्ञहरुको अनुमानहरुलाई उल्टो नै सावित गरिदियो ।
ट्रम्प राष्ट्रपति भएपछि पनि अमेरिका र विश्वमा के हुन्छ भन्ने अर्को चर्चा अहिलेसम्म पनि उत्तिकै छ। अमेरिका संसारको शक्ति राष्ट्र हो र यसको राजीतिक प्रभावले यो भूगोललाई यो वा त्यो हिसाबले छुने गर्दछ । त्यसैले अनपेक्षित रुपमा ट्रम्प आएपछि उनले लिने नीतिले अब संसारलाई के कसरी छुने हो भन्ने कौतुहलतापूर्ण चर्चा अहिले पनि छ ।
सायद उनले आफ्नो कार्यभार सम्हालेपछिको केही महिनासम्मको कार्यशैलीले यो चासोले विराम पक्का पनि पाउँदैन। त्यसपछि यसवर्ष बढी चर्चित अर्को घटना हो बेलायतले युरोपेली युनियन छोड्ने निर्णय । यो पनि लगभग अमेरिकी राष्ट्रपतिकोजस्तै अर्को अनपेक्षित परिणाम हो । एकाध जनगुनासोलाई चित्त बुझाउनका लागि ‘लौनत’ भनेर तत्कालीन प्रधानमन्त्रीले ख्यालख्यालमै घोषणा गरेको जनमत संग्रहले ट्रम्पको पक्षमा दिएजत्तिकै परिणाम दियो।
युरोपेली युनियनमा बेलायत बस्न नहुने माग विपक्षीबाट आएपछि बेलायतका तत्कालीन प्रधानमन्त्रीले जनमत संग्रहको घोषणा गरे । तर जुन २३ मा भएको सो जनमत संग्रहले परिणाम भने बेग्लै दियो । बेलायतले युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षमा ५२ र छोड्नुहुदैन भन्ने पक्षमा ४८ प्रतिशत ब्रिटिशले मत व्यक्त गरे। वास्तवमा सरकारले जनमत संग्रहको घोषणा गर्नेबेलासम्म यस एजेण्डाले त्यति चर्को रुप लिएको थिएन तर घोषणापछि प्रचार प्रसारको क्रममा नै यसले लगभग उग्र रुप लिनपुग्यो। अन्ततः नसोचिएको परिणाम आयो । यस परिणामले युरोपलाई त झट्का दियो नै संसारलाई पनि युरोपमा देखिने विभाजनले अन्य भूगोलमा कस्तो असर पार्ला भनेर चिन्ताहरु निम्त्याइदियो । यसरी यस घट्नाले पनि संसारमा चासो र चर्चा थपिदियो भने युरोपमा चिन्ता ।
संसारमा चर्चाको शिखरमै रहेको अर्को घटना हो उत्तर कोरियाको आणविक परीक्षण । संसारलाई जिस्काएजस्तो वा विश्वले बोलिरहँदा पनि आफूलाई कुनै वास्ता र डर नभएजस्तो गरी वर्षमै पटकौँसम्म उत्तर कोरियाले गरेको आणविक परीक्षणको घटना विश्वका संचारमाध्यमहरुको अग्र स्थानमा रहन पुग्यो। अमेरिकालगायत संसारले यस्तो परीक्षणको कार्य तुरुन्त बन्दगर्न उत्तर कोरियालाई दिएको धम्की र उत्तर कोरियाले अरु विश्वलाई नत्र झन्ठूलो आणविक परीक्षण गरिदिने भनेर दिने गरेका जवाफी आणविक फायरिङहरु नै संसारका मिडियामा स्थान पाएका थिए ।
संयुक्त राष्ट्रसंघ एवम् अमेरिकाले उत्तर कोरियामाथि विभिन्न समयमा नाकाबन्दी एवम् कारबाहीको चेतावानी दिए । राष्ट्रसंघीय सुरक्षा परिषदले उक्त देशलाई पटक पटक निन्दा गर्दै यस्ता कार्य रोक्न चेतावानी पनि दियो। तर त्यसका बाबजुद पनि उसले सन् २०१६ को जनवरीदेखि नै आणविक परीक्षणको काम सुरु गर्यो र वर्षको उत्तरार्धसम्म नै यसले निरन्तरता पायो। युरोपमा भएको आतंककारी हमला पनि सन् २०१६ को अर्को प्रमुख घटना हो ।
गएका केही वर्षहरुदेखि युरोप कुनै न कुनै किसिमले चर्चामै छ । सन् २००९ को विश्व आर्थिक मन्दीले युरोजोनलाई कैयौं वर्षसम्म सतायो । त्यसपछि सुरु भयो युरोपमा आप्रवासी समस्या। यसले पनि युरोपको समृद्धि र विकासको मार्गमा राम्रैसँग धावा बोल्यो। र अहिले युरोपमा आतंकवादको ठूलो त्रास छ। गएको मार्च २२ मा बेल्जियमको ब्रसेल्सको एक विमानस्थल र रेल स्टेसनमा आतंककारी हमला भयो। त्यसबाट कम्तीमा पनि ३४ जना निर्दोष नागरिक मारिए र अरु दर्जनौँ घाइते भएर बसे । त्यो भन्दा ठूलो बर्बरता देखियो फ्रान्सको निस सहरमा । एक क्रुर मानिसले उक्त सहरमा फ्रान्सको राष्ट्रिय दिवस मनाइरहेका सयौं मानिसहरुको भीडमा शक्तिशाली विस्फोटक पदार्थले भरिएको ट्रक ठोकाएर ८४ जना नागरिकको हत्या गर्यो।
आधुनिक समाजको आतंककारी बर्बरतासहितको यो अती क्रुर नमूना थियो । यो ट्रक हमलाले वर्षको उत्तरार्ध्तिर पनि छोएर गयो जर्मनीको बर्लिन सहरमा । त्यहाँ पनि केही नागरिकको यो हमलाबाट ज्यान गयो। यसरी सिंगो युरोप यतिखेर यस्तो आतंककारी हमलाबाट सताइएको छ। युरोपले यसका विरुद्धमा ठूलै संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ सिंगो युरोप बनेर। टर्कीमा भएको असफल सैनिक कू यसवर्षको अर्को एक चर्चित घटना हो।
गएको जुलाई १५का दिन टर्कीका राष्ट्रपति रिसेप बिदामा रहेका बेला त्यहाँको सेनाले असफल ‘कू’ को प्रयास गर्यो। सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण गर्यो।
सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार गर्यो। सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन र जसले गर्दा त्यहाँका हजारौं हजार कर्मचारी, सेना, प्राध्यापक, शिक्षकलगायतले जेलमा बिताउनुपर्यो। त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिरबाट हात धुनुपर्यो भने २०० जनाको ज्यानै गयो। त्यो प्रयास असफल भयो र त्यस प्रयासमा संलग्न सयौं सेनाहरु जेलमा छन् । साउथ चाइना सि को चीन र फिलिपिन्सको विवादले पनि संसारको ध्यान तान्यो।
यस विवादका कारण चीनको वान बेल्ट वान रोडको योजनामा पनि असर पर्ने त होइन भन्ने पनि लाग्यो। फिलिपिन्सले साउथ चाइना सिमा आफ्नो हिस्सेदारीको कुराले गर्दा यी दुई देशबीच तनाव बढ्यो। तर पछिल्लो समयमा आएर भने यसमा सन्तुलन आएको छ। यसमा चिनियाँ कूटनीति सफल देखिएको छ। फिलिपिन्सको यस दाबीले चीनको अखण्डतामा धावा बोलेको मात्र नभई यसले अन्तर्रा्ष्ट्रिय कानुनको पनि उल्लंघन गरेको भनी चीनले विश्वव्यापी रुपमा निरन्तर रुपमा दबाब सिर्जना गर्यो।
जसका कारण हाललाई भने यसले समाधानको मार्ग पछ्याएको देखिएको छ। सिरिया त गएका कैयौं वर्षदेखि नै चर्चाको शिखरमा छँदै नै छ। यस वर्ष पनि सिरियाका कारण वर्षको सुरुवातमै अर्थात् फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए। त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी नै जगायो। तर परिस्थिति त्यही रुपमा रहेन उही पुरानै हिंसाको बाटोमा फर्कियो। पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो। अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ।
दुई राष्ट्रपति महिला ब्राजिलकी डिल्मा रुसेफ र दक्षिण कोरियाकी पार्क गेउन हाईविरुद्धको महाअभियोग प्रस्तावले पनि संसारको मिडियाको ध्यान तानेको हो। ब्राजिलमा रुसेफलाई हटाइएसँगै एक ठूलो ल्याटिन अमेरिकी मुलुकमा गएको करिब डेढ दशकपछिको बामपन्थी झुकावको वर्कस् पार्टीको शासन हट्यो। भने महिनौं लामो सडक आन्दोलन र विपक्षीहरुको विरोधका बाबजुद उता दक्षिण कोरियाली राष्ट्रपति हाइलाई पनि हटाइएको छ। त्यस्तै बर्षको लगभग उत्तरार्धका दुई विश्व चर्चित घटना बने संयुक्त राष्टसंघका महासचिवको नियुक्ति र क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन ।
अक्टोबर ५ मा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस राष्ट्रसंघका महासचिव नियुक्त भए । उनले सपथ पनि लिइसकेका छन् भने अब नयाँवर्षसँगै उनले कार्यभार सम्हाल्ने छन्। त्यस्तै क्युबाली राष्ट्रपति फिडेल क्यास्टोको निधनले पनि संसारमा नै चर्चा पायो। सन् १९५९मा गुरिल्ला युद्धमार्फत सत्तामा आएका यी नेताले बनाएको क्रान्तिकारी छवीको विश्वका मिडियाले चर्चा गरे। उनले आफ्नो कार्यकालभरि अमेरिकी नाकाबन्दी तथा अमेरिकाको विरोधको सामना गर्नु परेको थियो। उनको यो संघर्षको पाटोलाई विश्वका मिडियाले क्रान्तिकारी छवीका रुपमा प्रस्तुत गरेका थिए ।
World Day