मुख्य समाचार News

संसद् बैठक अवरुद्ध, आजै ४ बजे बस्ने, निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गर्न जरुरीः सभामुख घर्ती

संसद् बैठक अवरुद्ध, आजै ४ बजे बस्ने, निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गर्न जरुरीः सभामुख घर्ती
पुस - १८ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै साेमबार पनि संसद् बैठक अवरुद्ध गरेको छ । साेमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाएका थिए । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै प्रतिपक्षी दलले मङ्सिर १६ गतेदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन् । साेमबार बैठक अवरोधबीच सभामुख ओनसरी घर्तीले नेकपा (माले)का सांसद कलम विश्वकर्मालाई बोेल्न समय दिइन् । उनले सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संविधान विपरीत रहेको बताए। उनले संशोधनमा अङ्गीकृत नागरिकताको प्रमाणपत्र दिनेलाई खुकुलो बनाउन, मातृभाषा नरहेको भाषालाई कामकाजी भाषा बनाउन खोजिएको आरोप लगाउँदै संशोधन प्रस्ताव राष्ट्रहित, एकता र सुरक्षाको पक्षमा नरहेको उल्लेख गरे । सांसद विश्वकर्माले भन्नुभयो – “प्रस्तावित ५ नं प्रदेशबाट तराईलाई अलग गर्नु भनेको एक मधेस एक प्रदेशको अवधारणा लागू गर्न खोज्नु हो । सीमाङ्कनको फेरबदल गर्ने अधिकार वर्तमान सरकारसँग छैन ।”
निर्वाचन सम्पन्न गर्ने अभिभारा पूरा गर्न जरुरीः सभामुख घर्ती यही बीचमा सभामुख ओनसरी घर्तीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाधीनतालाई बलियो तुल्याउँदै लोकतन्त्र र शान्तिलाई स्थायित्व प्रदान गर्ने दायित्व बोकेका राजनीतिक दलहरुले आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्ने अभिभारालाई पूरा गर्न जरुरी रहेकामा जोड दिनुभयो । यसका लागि उहाँले हाल संसद्को गतिरोध अन्त्य गर्न आह्वान गर्दै यसका लागि सहयोग गर्न प्रमुख प्रतिपक्षीदललाई आग्रह गरिन् । सभामुख घर्तीले विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाइरहँदा पटक पटक आसन ग्रहण गर्न आग्रह गरेकी थिइन् । तर प्रतिपक्षी दलका सांसदहरुले विरोधलाई जारी नै राखेपछि सभामुखले प्रतिपक्षी दलका सांसद आफ्ना ठाउँमा उभिएर विरोध गरेको अवस्था भनेको सदन अवरोधको अवस्था भएको हो भन्दै बैठक आजै ४ बजेसम्मका स्थगित भएको घोषणा गरिन्।  
कार्यसूचीमा संविधान संशोधन सदनको आजको बैठकको कार्यसूचीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन २०७३ सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुने कार्यक्रम थियो । यसैगरी, आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन, २०७३) प्रस्तुत गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गरेकाे महाअभियोगको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

संविधान संशोधन प्रस्ताव

विशेष