विदेश

रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का

रात्रि क्लब आक्रमणमा आइएस आवद्ध आतङ्ककारीले गरेको आशङ्का
पुस–१८ । टर्कीको इस्तानबुलमा रहेको एक रात्रि क्लबमा नयाँ वर्षको सुरु भएको उपलक्ष्यमा रमाइलो गरिरहेका व्यक्तिमाथि भएको आतङ्ककारी आक्रमण इस्लामिक स्टेट (आइएस) आवद्ध जिहादी समूहले गरेको आशङ्का गरिएको छ । टर्कीका अधिकारीद्वारा जारी एक प्रतिवेदनमा सो आशङ्का गरिएको त्यहाँका दैनिक पत्रिका हुरिएतले जानकारी दिएको छ । रैना नामक यस विशिष्ट रात्रिक्लबमा भएको आक्रमणमा परी ३९ जनाको मृत्यु भएको छ । यी सबैको अन्तिम संस्कार गरिएको पनि जानकारी दिइएको छ । हुरिएतका अनुसार टर्कीका प्रहरी र गुप्तचर निकायका अधिकारीलाई आइएस आवद्ध आतङ्ककारीले नयाँ वर्षको सुरुमा टर्कीका कैयाैँ सहरमा आक्रमण गर्ने चेतावनीसमेत दिएका थिए । यसै चेतावनीको आधारमा जारी प्रहरी कारबाहीमा आशङ्कित व्यक्ति पक्राउ समेत परेका जनाइएको छ । किर्गिजस्तान र उज्बेकिस्तानबाट आएका आइएस आतङ्ककारीसँग आवद्ध रहेको विश्वास गरिएका ती आतङ्ककारी अर्को आक्रमण तयारीमा रहेका समेत अनुमान गरिएको छ । अधिकारीका अनुसार यस घटनामा मारिएमा इजरायल, फ्रान्स ट्युनिसिया लेबनान, भारत र बेल्जियम जोर्डन र साउदी अरेबियामा गरी करिब १६ जना विदेशी नागरिक रहेका छन् । आक्रमणकारीले रैना रात्रि क्लबमा प्रवेशद्वारमा नै रहेका एक प्रहरी र सर्वसाधारणलाई नै गोली हानेर हत्या गरेपछि भित्र छिरेर जथाभावी गोली प्रहार गर्न सुरु गरेका थिए । गृहमन्त्री सुलेमान सोएलुले आक्रमणकारीको खोजीकार्य तीव्र पारिएको र चाँडै नै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेका छन् । यस आक्रमणमा घाइते भएका अन्य ६९ जनाको अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या पनि बढ्ने अनुमान गरिएको छ । रासस-एएफपी

आइएस इस्तानबुल टर्की

विशेष