विदेश

१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

१३ जना नोबेल पुरस्कार विजेताले लेखे राष्ट्रसंघलाई चिठ्ठी

पुस २० । बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् ।  १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् ।

यसलाई मानवीय त्रासदीको संज्ञा दिँदै उनीहरुले नश्लीय सफाया र मानवताविरुद्धको अपराध भइरहेको चेतावनी दिएका हुन् । मूल निवासी मानिने रोहिंग्या मुस्लिममाथि आक्रमण भइरहेको उनीहरुले जनाएका हुन् ।

बितेको दुई महिनामा रोहिंग्या मुस्लिम अल्पसंख्यकविरुद्ध म्यानमार सैनिकले गरेको कार्वाहीमा सयौं मारिएको र ३० हजारभन्दा बढी ब्यक्ति बेघर भएको चिठ्ठीमा दावी गरिएको छ ।

घर जलाइएको, महिलालाई बलात्कार गरिएको, बच्चाको हत्या गरिएको तथा उक्त क्षेत्रमा मानवीय सहायतासमेत नदिइएको जस्तो गम्भीर आरोप बर्मा सरकारमाथि लगाइएको छ । बर्मामा हाल नोबेल पुरस्कार विजेता एवं प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको सरकार रहेको छ ।

उक्त चिठ्ठीमा हस्ताक्षर गर्नेमा आर्चबिशप डेसमन्ड टूटू, मोहम्मद यूनुस, मलाला युसुफजई, जूसे रामोस होर्तालगायत रहेका छन् ।उनीहरुले नेतृ सूचीको आलोचना पनि गरेका छन् । त्यहाँ भइरहेको दमनका बारेमा बारम्बार अपील गर्दा पनि सूचीले कुनै वास्ता नगरेको भन्दै उनीहरुले अल्पसंख्यक मुस्लिमको अधिकार रक्षाका लागि कुनै कदम नचालिएको आरोप पनि लगाएका छन्

nobel prize

विशेष