गृहमन्त्रीले ‘सिसिटिभीको फुटेज मिडियालाई दिउँ कि माफी माग्ने ?’ भन्दै झपारेपछि युवासंघ लम्पसार
पुस २० । एमालेको भातृ संगठन युवासंघले बुधबार दिनभरीमा सार्वजनिक माफी माग्ने वाचा गरेपछि सरकारी गाडी आगजनी गर्नेलाई पक्राउ नगरिएको बुझिएको छ । युवा संघको सार्वजनिक क्षमा याचनाको पर्खाइमा गृह मन्त्रालय रहेको गृहमन्त्री बिमलेन्द्र निधिनिकट स्रोतले जनाएको छ । बुधबार कार्यालय समय भित्रमा युवा संघले आधिकारिकरुपमा माफी नमागेमा उसका केही केन्द्रीय नेतालाई पक्राउ गर्ने तयारीमा प्रहरी छ ।
गृहमन्त्री बिमलेन्द्र निधिलाई भेटेर युवा संघका अध्यक्ष राजीब पहारीसहितको समूहले माफी माग्ने भन्दै पक्राउ नगर्न आग्रह गरेको थियो । आगजनीलाई लिएर क्रुद्ध बनेका गृहमन्त्री निधिले घटनामा संलग्नहरुलाई बचाउन सकिने स्थिति नरहेको स्पष्ट गरेका थिए । निधिले सिसिटिभी दृश्यबाट सबै छर्लङ्ग भइसकेको जनाएका थिए ।
युवा संघका नेताहरुले राजनीतिक घटनालाई अनावश्यकरुपमा उचालिएको भन्दै गृहमन्त्रीसँग दुखेसो गरेका थिए । गृहमन्त्री निधिले फुटेज सार्वजनिक गरेपछि घटना राजनीतिक कि अपराधिक भन्ने थाहा हुने भन्दै रिसाएका थिए । फुटेज सार्वजनिक गरिदिने गृहमन्त्रीको चेतावनीपछि युवा संघका नेताहरुको भाका एकाएक फेरिएको मन्त्रालय निकट स्रोतले दाबी गर्यो ।
गृहमन्त्री निधिको सचिवालयले दिएको जानकारी अनुसार युवा संघका नेता राजिव पहारीले साथीहरुबाट गम्भीर गल्ती भएको भन्दै क्षमा याचना गरेका थिए ।
व्यक्तिगतरुपमा माफी मागेर केही नहुने भन्दै निधिले सार्वजनिकरुपमा माफी माग्न र अब आइन्दा त्यस्ता गतिविधिमा संलग्न नहुने कबुल गर्न सुझाव दिएका थिए । पहारीले संगठनमा छलफल गरेर बुधबार दिनभरीमा माफी माग्ने वाचा गरेका थिए ।
सोमबार निधिसँग छलफल गरेसँगै पहारीले साथीहरु प्रहरीको भन्दामा पुग्ने अवस्था सृजना भएको भन्दै संगठनका तर्फबाट माफी माग्ने प्रस्ताव गरेका छन् । मंगलबार पहारीको प्रयास सफल हुन सकेन । प्रशासनसँग प्रतिरोध गरेर अघि बढ्नुपर्ने तर माफी माग्न नहुने भन्ने पक्षमा आवाज उठेको छ ।
व्यक्तिले गरेको गल्तिमा संगठनको साख गिराउने गरी क्षमा याचना गर्न नहुनेमा पहारी पक्षधरकै नेताहरुले तर्क गरेका छन् । अपरान्हसम्म पर्खने, त्यसपछि पक्राउ गर्ने
गृहमन्त्रालय स्रोतका अनुसार सडकमा राखिएको सिसिटिभी फुटेजको आधारमा प्रहरीले आगजनी गर्नेलाई पहिचान गरिसकेको छ । अघिल्लो दिन नै नजिकको पसलमा आगजनी गर्नका लागि पेट्रोल राखिएकाले घटना सुनियोजित रहेको गृहमन्त्रालय स्रोतले दाबी गरेको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीकी स्वकीय सचिवालयमा रहेकी सुमित्रा थापा, सरकारी कर्मचारी सरस्वती खड्का, युवा संघ सचिव रमेश पौडेल, पूर्वगृहमन्त्री भीम रावलका नातेदार अशोक रावललगायतका केही आगजनीमा संलग्न रहेको बताइएको छ ।
फुटेज सार्वजनिक नगर्न गृहमन्त्रीलाई दबाब
गृहमन्त्री बिमलेन्द्र निधिलाई फुटेज सार्वजनिक नगर्न विभिन्न तवरले दबाब आएको बताइएको छ । घटनाका बेला नेपालगञ्जमा रहेका राजिव पहारी काठमाडौँ फर्किए लगत्तै प्रहरी उच्च अधिकृतलाई भेट्न गएका थिए । प्रहरी सिसिटिभीको फुटेजमा युवा संघका नेताहरुको गतिविधि छर्लङ्ग भएको र उम्काउन सक्ने ठाउँ नरहेको भन्दै पहारीसँग अवस्था बुझिदिन आग्रह गरेका थिए । त्यसपछि पहारीले सिसिटिभीको फुटेज सार्वजनिक नगरिदिन भन्दै हात जोरेका थिए । उनले आन्तरिकरुपमा आफुले आगजनीमा संलग्नलाई कारबाही गर्ने प्रष्ट गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री निधिद्वारा घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन आएकाले विषय आफुहरुको बसभन्दा बाहिर रहेको प्रहरी अधिकारीले बताएका थिए । प्रहरी अधिकृतकै सल्लाहमा युवा संघ अध्यक्ष पहारीले गृहमन्त्रीसँगको भेटका लागि सचिवालयमा सम्र्पक गरेका थिए । गृहमन्त्री निधिलाई भारतको ट्टटु भन्दै सार्वजनिक भाषण गरेका पहारीलाई भेट गराउन शुरुमा सचिवालय हच्किएको थियो । एमाले नेतृत्वबाटै ‘केटाहरुको कुरा सुनिदिन’ भन्दै फोन आएपछि गृहमन्त्री निधिले युवा संघलाई समय दिएको बताइएको छ । पहारीले भेटमा निधिको व्यक्तित्वबाट आफु प्रभावित भएको र पार्टी फरक भएपनि निधिको प्रशंसा गर्दै आएको बताएका थिए । जवाफमा निधि मुस्कुराएका थिए ।
माफी मागेर छुट पाइन्छ ? युवा संघले माफी मागेपनि छुट दिन नमिल्ने भन्दै गृह मन्त्रालयमा लबिङ चलेको छ । ‘भोलि कसैले आगजनी गर्ला र माफी माग्ला । त्यसबेला के गर्ने ?’ गृहमन्त्री निधिलाई अन्य मन्त्रीले प्रश्न गर्ने गरेका छन् । सरकारी कर्मचारी रहेका र आगजनीमा संलग्नलाई के गर्ने भन्ने बारेमा पनि छलफल चलिरहेको गृहमन्त्री निकट स्रोतले बतायो । सकेसम्म राजीनामा गर्न सुझाउने नसके विभागीय कारवाही गर्ने बारेमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
सचिवालयमा रहेकी सुमित्रा आगजनीमा संलग्न रहेको खबर बाहिरिएपछि राष्ट्रपति कार्यालय विवादमा तानिएको छ । सुमित्राको संलग्नताका बारेमा समाचार आइरहेको छ । शुक्रबार बिदा परेकाले सुमित्रा शितल निवास गएकी थिइनन् । युवा संघको कार्यालयसम्म पुगेकी उनी आगजनीमा संलग्न भइन् या भइनन् एकीन छैन । यसबारेमा प्रहरीले पनि प्रष्ट बताएको छैन । युवा संघको केन्द्रीय सदस्य समेत रहेकी सुमित्रा आगजनीमा संलग्न रहेको खबर बाहिरिएसँगै राष्ट्रपतिको मर्यादामाथि आँच पुगेको छ । सोका बारेमा प्रष्ट पार्न कुनै पनि निकायले चासो देखाएको छैन । नत प्रहरीले सिसिटिभी फुटेज नै सार्वजनिक गरेको छ ।