News

खुल्ला चौरमा पढाइ !

खुल्ला चौरमा पढाइ !

पुस २१ ।  खोटाङमा दलीय भागबण्डामा भवन वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतीग्रस्त विद्यालय भवन पाउनबाट बञ्चित भएका छन् ।

भागवण्डामा गरिने वितरणले उत्तरी गाविस जलेश्वरी–३ स्थित जनकल्याण प्रावि आवश्यक भवन पाउनबाट बञ्चित भएको हो । आवश्यकतालाई भन्दा पनि दलका नेताको मनोमानी सिफारिसमा वितरण गर्ने परिपाटीले आफ्नो विद्यालयले भवन नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले गुनासो गरे । भूकम्पको क्षति र आवश्यकताका आधारमा गत वर्ष भवन पाउनुपर्ने विद्यालय यसपल्ट पनि भवन पाउनबाट बञ्चित भएको अभिभावकको भनाई छ ।

२०७२ साल बैसाख १२ गतेको महाभूकम्प र त्यसका पराकम्पनका कारण भवन भत्किएपछि हाल जनकल्याण प्राविले खुल्ला चौरमा पढाई सञ्चालन गर्दै आएको छ । कक्षा ३ सम्म पढाई हुने विद्यालयमा हाल २९ जना विद्यार्थी अध्ययनरत छन् । भत्किएका विद्यालयको भवनको भग्नावशेष मात्र बाँकी छ । भग्नावशेषमा झारपात उम्रिएको छ ।

जिल्ला शिक्षा कार्यालयमा भत्किएको भवनको फोटोसहित निवेदन दिएपनि भवन प्राप्त नभएकोे प्रधानाध्यपक खिनामायाँ बिसीले बताईन् । भूकम्पका कारण भत्किएको भवन आफै निर्माण गर्ने क्षमता नभएका कारण अभिभावक सहयोगको पखाईमा छन् । भूकम्पले भवन भत्किएपछि कतिपय विद्यार्थीलाई खुल्ला चौंर तथा कतिपय विद्यार्थीलाई बासको चित्राले बारेर बनाइएको छाप्रोमा राखेर पठन–पाठन सञ्चालन हुँदै आएको विद्यालयले जनाएको छ । एकै ठाउँमा खुला चौंरमा तथा साँघुरो ठाउँमा विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दा होहल्ला र पठनपाठनमा समस्या भइरहेको प्रअ बिसीले बताईन् ।

जाडोका समयमा खुल्ला चौंरमा गरिने पठनपाठनले विद्यार्थी काम्दै लेखपढ गर्न बाध्य छन् । हिउँदको समयमा शिक्षक विद्यार्थीले धुलोको सामना गर्नुपर्छ । ‘बर्षाको समयमा कहिले हावाहुरी, कहिले असिना पानीले कक्षा बन्द गर्न बाध्य हुन्छौँ,’ बिसीले भनिन्, ‘यस्तो दर्दनाक अवस्थामा पनि हामीले भवन पाउन सकेका छैनौँ । कहिलेसम्म हामीले यो समस्या झेल्नु पर्ने !’

श्रोतव्यक्ति र शिक्षा कार्यालयले भवन पाउने विद्यालयको सूचीको पहिलो नम्बरमा जनकल्याण प्राविको नाम उल्लेख गरेको भएपनि हालसम्म कार्यान्वयन हुन नसकेको अभिभावकको गुनासो छ । विद्यालयले भूकम्पपछि प्राप्त भएको त्रिपाल टाँगेर अस्थायी रुपमा कक्षा चलाएका थिए तर, त्रिपाल फाटेपछि विद्यार्थीलाई खुल्ला चौंरमा राख्नु परेको हो । ‘पाल च्यातिएपछि बालबच्चालाई कहिले खुल्ला चौंरमा त कहिले आफैले बनाएको छाप्रोमा राखेर पठनपाठन गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘पहुँचका आधारमा भवन वितरण गरिँदा हाम्रा साना बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ ।’

भूकम्पले क्षतीग्रस्त विद्यालयको पुःर्ननिर्माणका लागि केही दिनअघि दलका नेताको सहभागीतामा शिक्षाले प्रभावित विद्यालय छनौट गरेको छ । तर, भवन पाउने प्रभावितको सूचीमा जनकल्याण प्रावि परेको छैन । जिल्लाका दलले पुस ११ गते विद्यालय छनौट गरेर दोश्रो दिन शिक्षा कार्यालयलाई नामावली बुझाइएका थिए । ‘हामीले गत वर्ष नै भवन पाउनुपर्ने हो, पाइएन । यसपल्ट त पाइएला भनेको यसपल्ट पनि पाइएन,’ प्रअ बिसीले भनिन्, ‘भागबण्डा गर्नेक्रममा यसवर्ष पनि भवन दिइएनछ । हामीलाई विभेद र अन्याय गरियो ।’ भूकम्पका कारण खोटाङका १२२ विद्यालयलाई क्षती पुगेको थियो ।

जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालका अनुसार दुई कोठे ३ वटा, तीन कोठे ४ वटा र चार कोठे २ वटा भवन पाउने विद्यालय छनौट गरेर शिक्षा विभाग समक्ष सिफारिस गरिएको छ । जिल्लामा दलका नेताको सहभागीतामा उनीहरुले भने अनुसार शिक्षाले भवन वितरण गर्दै आएको छ । नेतासम्म पहुँच नभएका विद्यालय भने भवन पाउनबाट बञ्चित हुँदै आएका छन् ।

यसपल्ट पुःर्ननिर्माण सम्बन्धीका भवन वितरणमा भने भागबण्डा नगरिएको नेकपा मालेका केन्द्रीय सदस्य तथा खोटाङ ईन्चार्ज श्यामराज राईले दाबी गरे । ‘दल पोहोरको भवनले नै काबु भएका छन,’ केन्द्रीय सदस्य राईले भने, ‘दलले सिफारिस गरेका कतिपय विद्यालयले मापदण्ड अनुसारको भवन बनाउन नसकेपछि हच्किनु परेको अवस्था छ ।’ २०७० सालमा भवन वितरणको बिषय जिल्लाका दलबीच विवादको कारण नै बनेको थियो ।

khotang Kulla Chaura ma padai

विशेष