News

'भूकम्पपीडितप्रति सरकार गम्भीर भएन'

'भूकम्पपीडितप्रति सरकार गम्भीर भएन'
पुस - २१। राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले भूकम्पपीडितको पीडाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । बिहीबार राप्रपा मेलम्चीनगर कमिटीले आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राणाले पीडितका लागि तत्काल पुनर्वासका लागि कदम चाल्नुपर्ने सुझाव दिए। पार्टी अध्यक्ष राणाले भूकम्पपछिको दोस्रो जाडो पनि पीडितले टहरामै बिताउन बाध्य हुन परेको बताए । अमेरिका र अस्ट्रेलियाको सहयोगमा र ग्रिनसिटी अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको थियो । भोलिसम्म चल्ने उक्त शिविरमा ४७ विदेशी र १० नेपाली डाक्टरले उपचार सेवा दिँदै आएका छन् । शिविरमा स्त्री, बालरोग, आँखा तथा सामान्य रोगको उपचार गरिने आयोजकले जानकारी दिएको छ । शिविरमा उपचार हुन नसकेका आँखाका बिरामीलाई काठमाडौँमा लगेर उपचार गरिने राप्रपा मेलम्चीनगर कमिटीका अध्यक्ष फणीन्द्र दाहालले बताए।

पशुपतिशम्शेर राणा स्वास्थ्य शिविर

विशेष