अर्को पुनर्निर्माण प्राधिकरण गठन हुनुपर्छ– डा. भट्टराई
पुस २२ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई अधिकार सम्पन्न अर्को राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् ।
विनाशकारी भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि काम सिन्को नभाँच्ने तर प्राधिकरणको सिइओ फेर्ने खेलमा सरकार लागि परेको भन्दै भट्टराईले आक्रोश पोखेका छन् । उनले अप्रत्यक्ष रुपमा लोकतन्त्रको खन्दानी ठेकेदार (कांग्रेस) र क्रान्तिका नवधनाढ्य ठेकेदारसम्मले आफ्ना मान्छे राख्न सिइओ फेर्न खोजेको आरोप लगाएका छन् ।
भट्टराईले युद्धस्तरमा काम थाल्न कुनै मन्त्रालयको विभाग जस्तो प्राधिकरण गठन गरेर नहुने र प्राधिकरण ऐनमा संशोधन गरेर अधिकार सम्पन्न नयाँ प्राधिकरण गठन गर्नु नै यो सबै समस्याको समाधान हुने बताएका छन् ।
अधिकारसम्पन्न र सापेक्षभन्दा स्वायत्त प्राधिकरण गठन गर्नु पर्ने धारणा आफूले पहिले पनि राखेको उल्लख गर्दै सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘जुनसुकै राष्ट्रिय विपत्तिको पनि दलीय, गुटीय र निजी लाभ लिन र भागवण्डाको राजनीति गर्न अभ्यस्त भैसकेका देशका प्रमुख दल र नेताहरूले एउटा नाममात्रको कठपुतली जस्तो राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नाउँको अर्को सरकारी विभाग गठन गरे र आआफ्ना प्रिय पात्रहरूलाई सिइओको टीका लगाउन र ९/९ महिनाको सरकार फेरवदलसंँगै उसलाई पनि फेर्दै जाने शृंखला शुरू गरे ।’