News

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप
पुस–२२ । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ । शुक्रबार अस्पतालको ५५ औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गरे । आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी ५२ श्यया पुर्याइएको हो । अब अस्पतालमा नवजात शिशु राख्नका लागि २५ वटा श्यया, २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि १० वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि वटा १० श्यया सघन उपचार कक्षमा छन् र सरुवा रोग लागेका बच्चालाई राख्नका लागि दुई वटा श्यया उपलब्ध हुने भएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अस्पताल सुधारका लागि स–साना कुराले ठूलो फरक पार्ने भएकाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताए । उनले भने, “देशका जुनसुकै स्थानबाट कान्तिमा उपचारका लागि आउने बालबालिका श्यया नपाएर वा चिकित्सकको समय नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागिपरेको छ । अस्पतालले सुधारका योजनाका लागि आवश्यक कार्यक्रम बनाई पेस गरेमा तुरुन्तै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।” अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउँछन् । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने उनको अनुभव छ । उनका अनुसार सघन उपचार कक्षमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा अजित रायमाझीले श्ययाको अभावमा निजी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सघन उपचार कक्ष थप गरेको बताए । सघन उपचार कक्ष विभाग भित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको पनि गरिएको छ । कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न सरकारले रु पाँच करोड र जापान सरकारले रु १५ करोड गरी २० करोड सहयोगमा थप ३४ श्ययाको सघन उपचार कक्षको निर्माण गरिएको हो । रासस

आइसियु कक्ष कान्ति बाल अस्पताल

विशेष