गैंडाको बासस्थान अध्ययन गर्न आएको चिनियाँ टोलीलाई नेपाली पक्षले फर्काइदियो
पुस–२३ । नेपालका एकसिंगे गैँडाको बासस्थान अध्ययन गर्न समझदारी पत्रसमेत तयार गरेर बुधबार नेपाल आएको सचिवस्तरीय चिनियाँ टोली सहमतिबेगर शनिबार फर्किने भएको छ ।
नेपाली पक्षले पर्याप्त गृहकार्य नभएको उल्लेख गर्दै समझदारी पत्रमा हस्ताक्षर गर्न नमानेपछि चिनियाँ टोली फर्किन थालेको हो । विश्वकै दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा नेपालबाट आफ्नो देश लैजाने पूर्वतयारीस्वरुप चिनियाँ टोली आएको हो । काठमाडौँ आएलगत्तै टोली गैँडाको बासस्थान अध्ययन गर्न चितवन राष्ट्रिय निकुञ्जतर्फ गएको थियो ।
चीनको स्टेट फरेस्ट एडमिनिस्ट्रेसनका भाइस मिनिस्टरको नेतृत्वमा पाँचसदस्यीय टोली नेपाल आएको हो । चितवन निकुञ्जको दुईदिने अध्ययन गरेर शुक्रबार दिउँसो काठमाडौँ फर्किएको टोली र वन मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेल नेतृत्वको नेपाली टोलीबीच शुक्रबारै वार्ता भएको थियो ।
‘टोलीले समझदारी पत्र तयार गरेर आएको रहेछ । त्यसमा ६ महिनाभित्र गैंडा लैजाने योजना रहेछ । तर, वार्तामा सहभागी नेपाली पक्षले तत्काललाई पत्रमा हस्ताक्षर नगर्ने जवाफ दियो’ , वार्तामा सहभागी एक अधिकारीले भने । उनका अनुसार नेपली पक्षले गैंडा लैजाने विषयमा थप अध्ययन गर्न बाँकी रहेको उल्लेख गर्दै समझदारी पत्रमा अहिले हस्ताक्षर गर्न नमिल्ने जनाएको थियो । –नागरिक दैनिकबाट