विदेश

राष्ट्रपतीय निर्वाचनमा पुटिनद्वारा ट्रम्पलाई सहयोग : अमेरिकी गुप्तचर विभागको प्रतिवेदन

राष्ट्रपतीय निर्वाचनमा पुटिनद्वारा ट्रम्पलाई सहयोग : अमेरिकी गुप्तचर विभागको प्रतिवेदन
पुस - २३ । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको इसारामा रुसले गोप्य सहयोग गरेको भनी अमेरिकी गुप्तचर निकायहरुले गतःशुक्रबार एक ठोकुवा प्रतिबेदन बुझाएका छन् । उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई घात गर्दै निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले एक गुप्त विस्तृत साइबर अभियान नै चलाउन व्यक्तिगत रुपमै आदेश दिएको खुलासा गरेको छ । अमेरिकी गुप्तचर निकायहरुका प्रमुखहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउस तथा अमेरिकी काँग्रेसलाई भेटेर आफ्ना निष्कर्ष प्रस्तुत गर्दै सो प्रतिबेदन गतः शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेपश्चात् उक्त प्रतिबेदनको केही अंश सार्वजनिक गरिएको हो । मूल प्रतिवेदनमा रुसले कहाँबाट, के, कसरी साइबर अभियान चलाई निर्वाचनलाई प्रभावित बनाएको हो सो सबैको विस्तृत विवरण उल्लेख गरिएको बताइएको छ । यस अतिरिक्त, सो प्रतिबेदनमा क्रेमलिनले स्पष्टरुपमा ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको पदमा आसिन हुन रुचाएको, प्रजातन्त्रप्रति अमेरिकी जनताको विश्वासमा ठेस पुर्याउन, हिलारी क्लिन्टनलाई घात गरी उनको बदनाम गर्नु, उनको विजयी हुने सम्भावनामा वाधा सिर्जना गर्नु इत्यादि रुसको उद्देश्य रहेको पनि उल्लेखित छ । अनगिन्ती पृष्ठसङ्ख्या रहेको मूल विस्तृत प्रतिबेदन बुझिलिने सबैले यसलाई गोप्य राखेका छन् । हाल सार्वजनिक भएको पच्चीस पृष्ठको निचोड उक्त मूल प्रतिबेदनको एक अंश मात्र हो । यसबारे तत्कालै एक प्रतिक्रिया दिँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकी निर्वाचन प्रभावित हुनेगरी रुसले हस्तक्षेप गरेको भन्ने आरोप लगाउनु भएन । साथै निर्वाचन परिणाम प्रभावित भएको भन्ने आरोप पनि स्वीकार्नु भएन । यसअघि पनि अमेरिकी अधिकारीले डेमोक्र्याटिक पार्टीका इमेलहरु ह्याक हुनुका पछाडि रुसको हात रहेको, त्यसको मुख्य उद्देश्य हिलारी क्लिन्टनलाई विफल तुल्याउनु हो भनी बारम्बार ओबामा प्रशासनलाई सजग तुल्याइरहेका थिए । रुसी ह्याकिङ्गबारे अमेरिकी गुप्तचर निकायले प्रस्तुत गरेका मौखिक वा लिखित प्रतिवेदनउपर आफू विजयी भएपछि ट्रम्पले प्रश्न उठाउँदै आएका थिए । त्यस्तै, अमेरिकी गुप्तचर निकायका प्रमुखहरुले अमेरिकी प्रशासन अब पनि मौन बस्ने हो भने अमेरिका वा विशेषतः अमेरिकी मित्रराष्ट्रका भबिष्यमा आउने कुनै पनि महत्वपूर्ण गतिविधि वा घटनालाई रुस वा विश्वका अन्य कुनै पनि मुलुकले यसैगरी ह्याकिङ्ग गरी आफूले चाहेजस्तो मोडमा पु्र्याइ त्यसबाट लाभ उठाउन सक्ने बताएका छन् । यस्तो क्रियाकलापले अमेरिका वा अमेरिकी मित्रराष्ट्रलाई भने जहिले पनि आघात हुने भनी सचेत पारेका छन् । एपी

डोनाल्ड ट्रम्प भ्लादिमिर पुटिन

विशेष