‘तेरो देउता लैजा’ भनेपछि चर्कियो विवाद
पुस २४ । काठमाडौंको कपनस्थित गुम्बाको जमिनमा विवाद भएपछि महांकाल थानका देवता कता राख्ने भन्ने अन्यौल भएको छ ।
बौद्धधर्मावलम्वीको गुम्बा र हिन्दुहरुको महांकालथान निलकण्ठ नगरपालिकास्थित कपन गुम्बामै छ । नापीले सो गुम्बा सात नम्बर पर्तीमा राखेको छ । पर्ती जग्गामा महांकाल थान र गुम्बा वर्षौंदेखि एकसाथ रहँदै आएका थिए । ‘अहिले गुम्बा संञ्चालन गर्ने संस्थाले तिमीहरुका देउता लिएर जाउ भनेपछि जग्गाको विवाद उत्पन्न भएको हो ।’ स्थानीय आविश्कार सिग्देलले जानकारी दिए ।
सिग्देलले भने, ‘गुम्बाले सात नम्बर पर्ती जग्गा किनेको दाबी गरेको छ । पर्ती जग्गा किनबेच हँुने नियम नै छैन । यसकारण यो पर्ती जग्गामा गूम्बाले कब्जा गरेको हो ।’
गुम्बाले सो क्षेत्रका जमिन आफ्नो संस्थाले किनेको दाबी गर्दै महांकाल थान अन्त सार्न भनेको छ । महांकालथानमा पूजा गर्ने भक्तहरुले भने आदिकालदेखि रहँदै आएको मन्दिर सार्न नमिल्ने बताएका छन् ।
विवाद झाँगीदै गएपछि स्थानीय प्रशासनले महांकाल क्षेत्रमा प्रहरी तैनाथ गरेको छ । महांकलथानमा पूजा गर्नेहरुले निलकण्ठ नगरपालिकामा घेराउ गरेका छन् । पर्ती जग्गा किनबेच गरिएको रहेछ भने पनि त्यसमा सरकारी कर्मचारीको मिलोमतो हुन सक्ने उनीहरुले बताएका छन् ।
यस सम्बन्धमा गुम्बाका लामाले बोल्न अस्वीकार गरे । गुम्बा प्रशासन प्रमुख हिसी लामाले एक घण्टापछि कुराकानी गर्ने जानकारी दिए ।