आइएसको आत्मघाती आक्रमणमा परी बाह्रको मृत्यु
पुस–२४ । इराकको राजधानी बग्दादको प्रमुख तरकारी बजारलाई लक्ष्यगरी आइतबार भएको एक आत्मघाती बम विस्फोटमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।
मोसुलमा सहर इराकी सुरक्षा बलसँग झडप गरिरहेका इस्लामिस्ट स्टेट (आइएस) जिहादी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । इराकी सुरक्षा बलले गत अक्टोबर १७ बाट इराकी सहर मोसुलको पुनः नियन्त्रणको लागि कारबाही सुरु गरेका थिए ।
यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य अन्य ३९ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
जामिला तरकारी बजार बग्दादको प्रमुख थोक तरकारी बजारको रुपमा प्रचलित छ । आइएस आतङ्ककारी समूहले अनलाइनमार्फत एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको दाबी गरेका छन् ।
गत जनवरी २ मा सिया मुसलमान समुदायको बाहुल्यता रहेको सदर सहरको विभाजन रेखामा कामको लागि पर्खिरहेका श्रमिकहरुबीच भएको विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका थिए ।
यस आक्रमणको पनि आइएस आतङ्ककारी समूहले नै जिम्मा लिएका थिए । इराकमा सिया मुसलमान समुदाय लक्षित बारम्बार आक्रमण हुँदै आएको छ । रासस
आत्मघाती बम विस्फोट
इराक
इस्लामिस्ट स्टेट (आइएस)