News

सुन्दरीजल–सिन्धु ९.४ किमी सुरुङ उद्घाटन

सुन्दरीजल–सिन्धु ९.४ किमी सुरुङ उद्घाटन
पुस–२४ । मेलम्चीको पानी काठमाडौँ ल्याउन खनिएको सुरुङको ९.४ किमी सुन्दरीजल–सिन्धुखण्ड जोडिएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९.४ किमी पुस १३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सो सुरुङको आज खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गरे । मेलम्ची खानेपानी विकास समितिले आर्इतबार सुन्दरीजलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना सुन्दरीजल–सिन्धुखण्ड ‘ब्रेक थ्रु’ भएको बताए । “राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएबाट सबै जुटेर लागे विकास सम्भव छ भन्ने प्रमाणित भएको छ, बाँकी काम पनि दसैँअघि नै सम्पन्न गरेर पानी ल्याउने अभियानमा सरकार लागेको छ”– उनले भने । सिन्धुपाल्चोक ३ नं क्षेत्रबाट निर्वाचित सांसद शेरबहादुर तामाङले मेलम्चीको पानी काठमाडौँवासीलाई दिन आयोजना निर्माण गरिएको बताए । “मेलम्चीसँगै याङ्री र लार्केको पानी पनि छिटो काठमाडौँमा ल्याउनुपर्छ, यसका लागि मेलम्ची जस्तो २७ वर्ष नलागोस्, सुरुङले सिन्धुपाल्चोक र काठमाडौँ जोडिएको छ, काठमाडौँको जस्तै विकास पानी पठाइदिने जिल्लामा पनि होस्”–उनले भने । मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विसं २०७४ को दसैँको उपहारका रुपमा काठमाडौँवासीलाई पानी दिन लागिएको सुनाए । “नेपालमा ठूला आयोजना तीव्रगतिमा भएको पहिलो उदाहरण यो हो, अन्य राष्ट्रिय गौरवका आयोजना पनि यही गतिमा अघि बढ्नुपर्छ”– उनले भने । समितिका निमित्त कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले २७ किमी सुरुङमध्ये ५.४ किमी बाँकी रहेको जानकारी दिए । कार्यक्रममा मेलम्ची आयोजनाका लागि ऋण सहयोग दिने एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर किनिची योकोहामा, परामर्शदाता कम्पनी एप्टिसा–बेट्स जेभीका आवासीय सह–व्यवस्थापक शिवकुमार शर्मा र इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीका साल्भातोने क्यासीकोले दसैँअघि नै पानी ल्याइने प्रतिबद्धता जनाएका छन् । रासस

सुन्दरीजल–सिन्धुखण्ड सुरुङ

विशेष