मुख्य समाचार News

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत
पुस - २५ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । आधा घन्टाको स्थगनपछि बैठकले सो प्रस्ताव पारित गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सो प्रस्ताव प्रस्तुत गरेका थिए।
‘निर्वाचन विधेयक, २०७३’ स्वीकृत व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले पैसा र बल हुनेले निर्वाचन जित्ने प्रवृत्तिलाई विधेयकले निरुत्साहन गर्नुपर्ने बताए । विधेयकलाई विचार गरियोस् भनी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संसदीय व्यवस्थामा उम्मेदवार हुनेबित्तिकै करोडौँ चन्दा उठाएर खर्च गर्ने कार्य रोकिनु पर्ने बताए । छलफलमा उठेका सवालमा जवाफ दिँदै उपप्रधानमन्त्री निधिले स्वतन्त्र र शान्तिपूर्ण तथा दबाबरहित निर्वाचन हुनुपर्ने बताउँदै अवाञ्छित क्रियाकलापलाई विधेयकमा दण्डको व्यवस्था गरिएको जानकारी दिए। बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘बैङ्क तथा वित्तिय संस्थासम्बन्धी विधेयकको सम्बन्धमा समितिको पूरक प्रतिवेदन २०७३ पेस गरे । संसद्को अर्काे बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।

निर्वाचन विधेयक व्यवस्थापिका–संसद्

विशेष