मुख्य समाचार News

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा मुसहर बस्तीको शिलान्यास [फाेटाेफिचर]

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा मुसहर बस्तीको शिलान्यास [फाेटाेफिचर]
पुस - २५ । धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् । बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि मुसहर बस्ती पुगेका थिए ।   बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । ‘यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम ग¥यो,’ उनले भने, ‘अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छरुन् ।’ त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । ‘पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो,’ उनले भने । बस्ती शिलान्यास कार्यक्रममा बोल्दै कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । ‘म पहिलोपल्ट पूर्वपश्चि राजमार्ग सरसफाइका लागि यहां आइपुग्दा निकै भक्कानिएको थिएं । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।’ कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउंदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् । यसैगरी अभियन्ता यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए । “यो तराई– पहाडमा सद्भाव छर्ने काम हो,” उनले भने । ४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए । यस अघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयांबाट निर्माण प्रारम्भ गरिएको उनको भनाई छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती निर्माणका लागि मह जोडीले रु एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले रु दशहजार पाँच हस्तान्तरण गरेका थिए । ‘यो मानवता र सद्भावको कार्य हो, बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं’ – धुर्मुसले आग्रह गरे ।  शिलान्यास कार्यक्रममा मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए । बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।  

dhurmush Suntali धुर्मुस–सुन्तली फाउन्डेसन

विशेष