विदेश

रफसञ्जानीको अन्त्यष्ठीमा लाखौं इरानी सहभागी

रफसञ्जानीको अन्त्यष्ठीमा लाखौं इरानी सहभागी
पुस - २६ । इरानका पूर्व राष्ट्रपति अकवर हासेमी रफसाञ्जानीको मृत्युपछि शोक मनाइरहेका लाखाैँ इरानी जनता उनको अन्त्येष्ठीमा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् । रफसाञ्जानीको ८२ वर्षकाे उमेरमा हृदयघातका कारण आइतबार निधन भएको थियो । तेहरान युनिभर्सिटी परिसरमा राखिएको शव वरपर इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको नेतृत्वमा लाखाैँ मानिस भेला भएका छन् । प्रार्थना सभाका अवसरमा खामेनीले आफ्नो भन्दा भिन्न विचार राख्ने सफसाञ्जानीको अन्तेष्ठी समारोहकाबीच इरानी पूर्व राष्ट्रपतिको इरानको इश्लामिक क्रान्ति र त्यसपछिका कामको प्रशंसा गर्दै उहाँको निधनबाट इरानले एक कर्म योद्धालाई गुमाएको बताए । रफसाञ्जानी इरानी राजनीतिमा क्रान्ति, धेर्य र प्रतिरोधका प्रतिक थिए । अन्त्येष्ठी प्रार्थनामा सर्वोच्च नेता खामेनीलाई राष्ट्रपति हसन रुहानी, इरानी संसदका सभामुख अलिलारिजानी र उनका भाइ तथा न्यायापालिका प्रमुख आयोतोल्लाह सादेग लारिजानी लगायतका उच्च पदस्थ अधिकारले सघाएका छन् । प्रार्थनापछि पूर्वराष्ट्रपति रफसाञ्जानीको शवलाई सन् १९७९ इरानी क्रान्तिका शिर्षस्थ नेता आयोतोल्लाह रुहोल्लाह खोमेनीको शव राखिएकै शवकक्षमा अन्त्येष्ठी गरिने छ । उनको निधनपछि शोकमग्न बनेको इरानमा सरकारले तीन दिन राष्ट्रिय शोक र विदाको समेत घोषणा गरेको छ । सन् १९३४ मा जन्मनुभएका रफसाञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र हुन् । सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो ।

अकवर हासेमी रफसाञ्जानी

विशेष