देश News

हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर, हिउँ फाल्दै टहरो बनाउँदै

हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर, हिउँ फाल्दै टहरो बनाउँदै
पुस - २७ । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जङ्गलभित्र टहरो बनाउन सुरु गरेका हुन् । ‘गोरखा भूकम्प’ले पुरानो लाप्राक गाउँबाट विस्थापित ६०० घरपरिवार अहिले गुप्सीपाखाबाट पनि विस्थापित भएका छन् । गुप्सीमा टहरो बनाएर बसेका भूकम्प प्रभावितमध्ये अधिकांश रिनजुलुङ, सानो रिनजुलुङ तथा पुरानै लाप्राक गाउँतर्फ झरेका छन् । भुमे सामुदायिक वनको जग्गा सरकारले लाप्राकीलाई भोगचलन गर्ने अधिकारसहित घडेरी दिएकामा अहिले एनआरएनएले डुलोजर लगाएर धमाधम घडेरी खार्ने काम गरिरहेको छ । गुप्सीमा रहेका करिब ६०० टहरो भत्काइएकाले भूकम्प प्रभावित पुनः डाँडाकाँडामा टहरो बनाउन बाध्य भएका हुन् । टहरो मात्रै होइन, गुप्सीबाट स्वास्थ्य चौकी, विद्यालय पनि अन्यत्र सारिएको छ । टहरो बनाउने घडेरी तयार गर्न हिउँ फ्याक्दै गर्नुभएका लाप्राकका मानबहादुर गुरुङले भने, “गुप्सीका टहरा भताभुङ्ग भो । घरको ठेगान नहुँदा दुःख पाइयो । तीन ठाउँमा टहरो बनाइसके ।” हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर बनेको छ । बढ्दो चिसोमा त्रिपाल, जस्तापाताले छाएको टहरोमा बस्नुपर्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी, र बिरामी सकसमा छन् । एनआरएनएले छिटो घर बनाइदिओस् भन्ने उनीहरुको माग छ । चिसोबाट बच्न चोयाको चित्रो बुनेर छानामाथि चित्रो राख्दै गर्नुभएका रामबहादुर गुरुङले भने, “टहरोभित्र र टहरोको चारैतिर चित्रोले बार्दा चिसो कम हुन्छ । पहिलेभन्दा यसपालि जाडो बढ्यो । दिनहुँ हिउँ नपरे पनि तुसारोले चिसो बढायो ।” गुप्सीपाखाबाट विद्यालय अन्यत्रै सारेपछि कक्षा ३ कि छात्रा तारा गुरुङ विद्यालय जान पाएकी छैनन । मणिकामदेवी मावि पहिलेको ठाउँबाट एक किलोमिटर तल सारिएको हो । अहिले विद्यालय भवनको (टहरो) बनाउने काम भइरहेको छ । चिसोले वृद्धवृद्धालाई रुघाखोकीजस्ता समस्याले सताएको छ । स्थानीय समाजसेवी मारर्सिङ गुरुङले भने, “गुस्सीमा नयाँ घर बनाउन घडेरी खारिएको छ । गाउँबासीे पुनःयत्रतत्र चौरमा, बारीमा टहरो हालेर बसेका छन् ।” भूकम्पपछि गाउँबाट विस्थापित भएजस्तै गुप्सीबाट पनि विस्थापित भएका गाउँले पुनः टहरो बनाउनुपर्दा समस्यामा छन् । “भूकम्पपछि तीन ठाउँमा टहरो बनाइसके” गुरुङले थपे, “पुनःनिर्माणले गति लिन नसक्दा चिसो स्याँठ खपेर बस्नुपरेको छ ।” गुप्सीबाट अरु ठाउँमा सरेका भूकम्प प्रभावितलाई पिउने पानी तथा शौचालयको पनि समस्या छ । भूकम्प प्रभावित ६१२ घरपरिवार भए पनि ५७३ को घर निर्माण गर्ने गरी घडेरी खारिएको भन्दै गुरुङले एनआरएनएप्रति असन्तुष्टि पनि जनाए ।
अक्टोबरसम्म घर हस्तान्तरण गर्छौं - एनआरएनए लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताए । अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उनले जानकारी दिए । “दिनहुँ नौ हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौँ । इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौँ” भट्टले भने। एनआरएनएले करिब १५० स्वयम्सेवक परिचालन गरी फेब्रुअरी १ मा घरको खन्ने र ५७३ निजी घरका साथै विद्यालय, स्वास्थ्यचौकी, गुरुङको संस्कार तथा संस्कृति झल्कने सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ने भएको छ । एउटा घर निर्माणमा करिब रु १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाउने उनले बताए । “प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि प्रयोग गर्ने गरी मिलाएका छौँ” उहाँले भन्नुभयो, “घरभित्र चिसो नहोस् भनेर सोलार र विद्युत्ले तातो बनाउने प्रविधि जडान गछौँ ।” घर निर्माण गरेपछि गोला प्रर्थाद्वारा भूकम्प प्रभावितलाई घरको साँचो दिने एनआरएनएले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गरेका छन् । मङ्गलबार लाप्राक पुग्नुभएका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने बताए । एनआरएनएले निजी आवाससहित सार्वजनिक संरचना बनाउने योजना साथ काम अघि बढाए पनि डक्टर एसोसिएसन नामक संस्थाले गुप्सीमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालेपछि केही विवाद भएको छ ।
प्रशन्न पोखरेल

Gorkha Gorkha - Snowfall Laprak

विशेष