पुस्तकालयको बिजोगः पाठक, व्यवस्थापक, जिम्मेवार निकाय कसैलाई नै मतलव छैन
पुस २९ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा पाठकहरु पत्रिकाको रासमाथि पत्रिका नै खोजिरहेका छन् । पत्रिका तथा पुस्तकको रासले सजिलै पत्रिकाहरु भेट्टाउन सकिरहेका छैनन् ।
२०७२ साल बैशाखको भूकम्पले पुस्तकालयको र्याक ढलाइदियो, कतिपय भाँचिए पनि । भत्केका ढलेका तत्काल उठाइएन । अहिले पुराना पत्रिकाहरु नष्ट हुने अवस्थामा छन् । भूकम्प गएको दुईवर्ष पुग्न लाग्दा पुस्तकालय बनाउने जागर सम्बन्धित निकायले देखाएको छैन । पत्रपत्रिका तथा पुस्तकहरु जहीँतहीँ छरपस्ट र फोहोरको डंगुरजस्तो रासभएको छ । पुस्तकालयमा पत्रपत्रिकाको फाइलिङ व्यवस्थित छैन । कितावहरु उस्तै यत्रतत्र छरिएका छन् । फोहोरको डगुंरजस्तो देखिन्छ पुस्तकालयभित्रको दृश्य । बिंसं २०६९ पछिका पत्रपत्रिकाहरु फाईलिङ समेत गरिएको छैन ।
केशर पुस्तकालय मृतजस्तै
देशकै पहिलो सरकारी पुस्तकालय केशर पुस्तकालयमा प्रवेश निषेध गरिएको छ । पुस्तकायलयमा पुग्दा भूकम्प भरखरै गएको जस्तो लाग्छ । पुस्तकालयका कर्मचारीहरु मात्र प्रवेश गरेर कार्यलयमा काम गरिरहेका छन् । पुराना पुस्तक तथा पत्रिका खोज्न जाने पाठकहरु निराश भएर फर्किने गर्छन् । किनकि, त्यहाँ भुकम्पछि पस्न सक्ने अवस्था छैन । पुराना महत्वपुर्ण किताब र पत्रपत्रिकाहरु अझै पनि पुरिएका छन् । जसको फलस्वरुप महत्वपुर्ण पुस्तकहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।
केशर पुस्तकालयको भित्तामा पुस्तकालय भवन बन्द रहेको सूचना टांगिएको छ । पुस्तक प्रेमीहरु भने आउन छोड्दैनन् । पाठकहरु बाहिर चौरमा बसेर भए पनि चित्त बुझाउँछन् ।
पुस्ताकालयभित्र जान निषेध छ । मूलद्वारमा तैनाथ छन् कार्यालय सहयोगी । उनीहरुको दिन पुस्ताकालय बन्द रहेको सूचना दिँदैमा बित्छ । पुस्ताकालय भवन जोखिममा रहेको छ । प्रशासनको काम भने पहिलो तलाबाटै जसोतसो भइरहेको छ ।
नेपालको पहिलो सरकारी पुस्तकालय केशर शमशेरकोे देन हो । पहिले यो केशरको निजी पुस्ताकालय थियो । २०२६ सालमा यसलाई सरकारीकरण गरियो । त्यसपछि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
पुस्तकालयमा हाल करिब ५० हजार पुस्तक र कागजात रहेको बताइन्छ । भुकम्पले के कति क्षति पु¥यायो भन्ने तथ्यांकसमेत पुस्ताकालय प्रशासनसँंग छैन । पुराना पुस्तक भित्रभित्रै गायब पारिए पनि थाहा नहुंने स्थित छ ।
प्रज्ञा भवन पुस्तकालयको हालत उस्तै
नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयको अवस्था अन्य पुस्तकालयको भन्दा कम छैन । पुस्तकप्रेमीहरु त्यहाँ पनि निराश भएर फर्कनुपर्ने हुन्छ । धेरै वर्षअगाडिका पत्रपत्रिका पाईन्छ भनेर आश नगरे पनि हुन्छ । जसको कारण धेरै पुस्तकालय चहारे पनि पुस्तकप्रमीहरुले आफुले खोजेको पुरानो पुस्तक पाउन नसकेको अवस्था छ । अनुसन्धानकर्ताहरुको लागि सन्र्दभ सामाग्रीको समेत अभाव भएको छ ।
‘ज्ञान नै शक्ति हो’
प्रसिद्ध दार्शनिक फ्रान्सिस बेकनको यो भनाईबाट ज्ञानको महत्व स्पष्ट हुन्छ ।
‘पुस्तकालय ज्ञानको मुहान हो’ यो भनाइलाई धेरै दार्शनिकहरुले महत्वको साथ अगाडि ल्याएका छन । यी दुई भनाइबाट ज्ञान र पुस्तकालयको महत्व स्पष्ट हुन्छ । यी भनाइले ज्ञान प्राप्त गर्न पुस्तकालय महत्वपूर्ण स्थल रहेको संकेत गरेको छ ।
नेपालमा धेरै पुस्तकालय छैनन् । भएका पुस्तकालयहरु नत व्यवस्थित नै छ नत पढ्नकै लागि पुस्तकालय पुग्ने संस्कारको विकास भएको छ । त्यसैले भएका अधिकांश पुस्तकालयमा पुस्तक खोज्न जाने मानिसहरुले ठूलै सास्ती बेहोर्नुपर्छ ।
सेवाग्राहीको गुनासो
पुरानो पत्रिका खोज्न प्रज्ञा प्रतिष्ठानको पुस्तकालय पुगेका माधव लम्साल भन्छन् ‘केशर पुस्तकालय अझै बनाएको रहेनछ । यहाँ त होला भनेर आएको यहाँको ताल पनि उस्तै छ । भुकम्प गएको २ वर्ष बितिसक्दा पनि पुस्तकालय बनेका छैनन् । यस्तो तालले हामीले अनुसन्धान कसरी सकाउनु ? यहाँ त यस्तो छ अन्य दुर्गम ठाउँको अवस्था कस्तो होला ?’ प्रश्नसँंगै उनी आक्रोशित बन्दै भने ‘न त कर्मचारी छन, नत पुस्तक नै छ, यस्तो तालले कसरी बन्छ देश ?’
त्यसैगरि केशर पुस्तकालय पुगेर फर्कने पुस्तकप्रेमीहरु धेरै छन् । पुस्तकालय चहार्दै केशरी पुस्तकालय पुगेका रमेश थापा भन्छन् ‘पुस्तकालय अब त बन्यो होला बनेको पहिलाको जस्तो भद्रगोल रहेछ । एउटा पनि किताब झिकेको रहेनछ । महत्वपूर्ण किताबहरु माथि थिचिएर पुरिएर नष्ट भईसक्यो होला । अब त पढ्नै पर्ने ईतिहास पनि नभेटिने भयो ।’
लिला कार्की त्रिभुवन विश्वविद्यालय पुस्तकालयमा एक महिनादेखि पुरानो इतिहास र राजनीतिको पुस्तक तथा पत्रिकाहरु खोजिरहेका छन् । उनी दिनहँु जसो पुस्तकालय आएर पुस्तक खोजी कार्यमा व्यस्त हुन्छन् । तर, एक महिना बितिसक्दा पनि उनले खोजे जति पुस्तक र पुरानो पत्रिकाहरु पाउन सकेका छैनन् ।
पुस्तकालयका कर्मचारीलाई पुस्तक खोजिदिन अनुरोध गरे पनि कर्मचारीले नसुनेको उनको गुनासो छ ।
पुस्तकालय प्रमुखलाई उनले पुस्तकालय व्यवस्थित गर्न बारम्बार दबाब दिए पनि विस्तारै हुन्छ भन्ने जवाफ पाएको उनी बताउछन् । निराश हँुदै उनी भन्छन् ‘यो विश्वविद्यालयमा यति धेरै विद्यार्थी संगठन छन् । यति धेरै समयदेखि पुस्तकालय अस्तव्यस्त छ । कोही आवाज उठाउदैनन् । जताततै भद्रगोल छ । कर्मचारीहरुको दादागिरी छ । विद्यालयमा भएको भद्रगोलको आवाज उठाउन नसक्ने लाचार विद्यार्थी संगठनले सिर्जनात्मक काम गर्ला भनेर के आश गर्नु ? वर्तमान नै यस्तो भएपछि देश समृद्ध बन्ला भनेर के विस्वास गर्नु ? ’ उनले भने । उनको प्रश्नको जसको जवाफ नत पुस्तकालय कर्मचारीले दिएका छन न त कुनै विद्यार्थी संगठनले ।
उनी पुस्तकालय आउने पाठकहरुसंँग पनि अत्यन्तै रुष्ट छन् । रुष्ट हँुदै उनी भन्छन ‘पुस्तकालयको यत्रो भद्रगोल छ । आफूले खोजेको सामग्री नभेटिए पछि भेटिएन भन्दै घर जान्छन् । पढेलेखेका बुद्धिजीवीले नै आवाज नउठाए कसले आवाज उठाउने ? हामी पुस्तकालय निमार्ण गर्न नसके पनि कम्तिमा प्रश्न गर्न सक्छांै । किन यस्तो भएको छ ? किन बनेन पुस्तकालय ? कहिलेसम्म बनिसक्छ पुस्तकालय ? प्रश्न गर्न पनि डराउने हामी बुद्धिजीवी ! विद्याथी संगठनका नेता ! नडराएकै हो भने हामी प्रश्न किन गर्दैनांै ?
कर्मचारी घाम ताप्दै
विश्वविद्यालयले पुस्तकालय भित्र पाठकहरुलाई जानकारी दिन कर्मचारीहरु खटाएको छ । तर, पुस्तकालयमा सजिलै कर्मचारीहरुलाई भेट्न हम्मे हम्मे पर्छ । पुस्तकको रासमाथी पुस्तक खोज्दै गरेका बेला पाठकहरुले पाठकहरुलाई नै प्रश्न गरेर हैरान पार्छन । किनकि, पुस्तकालयमा पाठकहरुबाहेक कर्मचारीहरु देखिदैनन् । त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक नाम नबताउने सर्तमा भन्छन् ‘सबै कर्मचारीहरु घाम तापेर बस्छन् । यहाँ सूचना पनि हामीले दिनुपर्ने हुन्छ । थाहा हुनेले पो दिन्छन नहुनेले कसरी दिनू । यो भद्रगोलमा कर्मचारीहरुले अलिअलि गरेर मिलाएको भए यो २ वर्षमा सबै व्यवस्थित भईसक्थ्यो । हामीलाई यसरी एउटै कुरा खोज्न महिनादिन लाग्दै लाग्दैन थियो । ’
पुस्तकालयको जवाफ
केन्द्रिय पुस्तकालयको प्रमुखमा सीता शर्मा नियुक्त भएको एक महिना भएको छ । उनी भन्दा अगाडि जर्नादन ढुंगाना प्रमुखमा थिए । जर्नादन ढु्रंगाना गएपछि पुस्तकालय २ महिना प्रमुखविहिन बन्यो । वर्तमान पुस्तकालय प्रमुख सीता शर्मा पुस्तकालय भद्रगोल भएर सेवाग्राहीले दुख पाएको स्विकार गर्छिन् ।
आफूले चाहेर मात्रै पुस्तकालय चाडै नै व्यवस्थित बनाउन नसक्ने उनको तर्क छ । ‘अहिले पुस्तकालयमा हामीसंँग कर्मचारीहरु अत्यन्त कम छन् । उनीहरु नियमित आएका पत्रिका र पुस्तकहरु दर्ता र व्यवस्थित गर्न भ्याउदैनन् । त्यसैले कर्मचारीरुले त्यता ध्यान दिन नसकेको हो । ’ उनले भनिन ‘ यो सबै व्यस्थापन गर्न माथिबाट बजेट पास गर्नुपर्छ । ¥याकहरु थप्नुपर्छ । यो काम गर्न मजदुर लगाउन सुरुमै पेश्की दिनुपर्छ । पेश्की आउने बित्तिकै काम सुरु हुन्छ ।
पुस्तकालय व्यवस्थित कहिले हुन्छ ?
पुस्तकालय प्रमुख सीता शर्मासँंग यो प्रश्नको जवाफ छैन । उनी भन्छिन् ‘यो समयसम्म व्यवस्थित हुन्छ भनेर ठ्याक्कै तोक्न सक्दिनँ । हामीले आर्थिक कारोबार नगर्ने भएकाले केन्द्रले कहिले पेश्की पठाउँछ, त्यसपछि काम सुरु हुन्छ ।’ उनको भनाईबाट स्पस्ट हुन्छ, पुस्तकालय व्यवस्थित हुन अझै वर्षौं लाग्छ ।
– सागर बुढाथोकी
situation of library in nepal