विदेश

जीवनको नयाँ अध्याय सुरु गर्न बुसपुत्रीको ओबामापुत्रीलाई सुझाव

जीवनको नयाँ अध्याय सुरु गर्न बुसपुत्रीको ओबामापुत्रीलाई सुझाव
माघ–१ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउस छोड्ने क्रममा अघिल्ला राष्ट्रपति जर्ज डब्लु बुसका दुई छोरी जेना र बारबराले ओबामाका दुई छोरी मालिया र सासालाई एक खुला चिठी लेखेर जीवनको नयाँ अध्याय सुरु गर्न सुझाव दिएका छन् । ‘आठ वर्षमा तिमीहरुले धेरैथोक ग¥यौ र धेरैथोक देख्यौ,’ जेना र बारबराले मालिया र सासालाई लेखेका छन्, ‘हामीले तिमीहरु स–साना बालिकाबाट गजबका दयालु र सहज महिला बनेको देख्यौँ ।’ जेना र बारबराले अब मालिया र सासाको अघिल्तिर आफ्ना प्रसिद्ध बाबुआमाको छायाँबाट पर आफ्नै कथा लेख्ने मौका रहेको पनि बताएका छन्, ‘यद्यपि गत आठ वर्षको अनुभव सधैँ तिमीहरुको साथमा हुनेछ।’ त्यस्तै बुसपुत्रीहरुले ओबामा पुत्रीहरुलाई कलेजको समयपनि बिताउन सुझाव दिएका छन् । ‘आफ्नो रुचीको खोजी गर । तिमी को हौ भन्ने कुरा जान । गल्ती गर–त्यसको अनुमति तिमीहरुलाई छ । इमानदार साथीहरुको घेरामा बस, जसले तिमीहरुलाई चिन्दछन्, प्रशंसा र रक्षा गर्दछन् । जो तिमीहरुको मूल्यांकन गर्छन्, तिनीहरुले तिमीहरुलाई माया गर्दैनन् र तिनीहरुको आवाजमा कुनै तौल पनि हुँदैन । बरु तिमीहरुको हृदयले के भन्छ, त्यसले चाहीँ अर्थ राख्छ ।’ ‘देखेका कुरा, भेटेका मानिस, सिकेका पाठ सबै आफैँसँग राख र त्यसलाई सकारात्मक परिवर्तनका लागि प्रयोग गर । यो काम तिमीहरुले गर्नेमा हामीलाई कुनै शंका छैन । ह्वाइट हाउसको अविश्वसनीय दबाब तिमीहरुले झेलिसक्यौ । कहिल्यै नभेटेको मान्छेले समेत तिम्रा बाबुआमाको कडा आलोचना गरेको तिमीहरुले सुन्यौ। आफ्ना अभिभावकसँग तिमीहरु उभिएको कुरालाई मात्र ‘हेडलाइन’ बनाइयो। तिमीहरुलाई जहिल्यै पहिलो प्राथमिकतामा राख्ने बाबुआमाले तिमीहरुलाई दुनियाँ देखाएको मात्रै होइन दुनियाँ तिमीहरुलाई नै दिएका छन्। सधैँझैँ उनीहरु नयाँ अध्यायको सुरुवातको जग बसाउन तिमीहरुलाई सहयोग गरिरहेका हुनेछन्। र हामी पनि त्यसै गर्नेछौँ ।’ सन् २००१ देखि २००९ सम्म ह्वाइट हाउसमै बसेका जेना बुस हेगर र बारबरा बुस त्यसपछि पढाइ र काममा लागेका थिए । हाल जेना पत्रकार तथा लेखिका रहेकी छिन् भने बारबार ‘ग्लोबल हेल्थ कर्प्स’ नामक एक सँस्थाको प्रमुख कार्यकारी अधिकृत हुन् । –एजेन्सी

ओबामा जर्ज डब्लु बुस ह्वाइट हाउस

विशेष