विदेश

हवाई आक्रमणमा सिरियामा आठको मृत्यु

हवाई आक्रमणमा सिरियामा आठको मृत्यु
माघ - १ । उत्तरपश्चिम सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको एक मानवअधिकारीवादीले जानकारी दिएको छ । इद्लिब प्रान्तको मआरात मसरिन सहरमा भएको यस हवाई आक्रमणमा मारिएका प्रायः सर्वसाधारण नागरिक नै रहेका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यो हवाई आक्रमण नजिकैका सहर आरुम अल जोजमा शुक्रबार राति भएको एक हवाई आक्रमणमा एक बालकसहित तीन व्यक्तिको मृत्यु भएको एक दिन पछाडि भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन् । यो हवाई आक्रमण सिरिया या रसियासँग आबद्ध भएको रामीले बताएका छन् । यद्यपि यस इद्लिब प्रान्तमा हालका हप्ताहरुमा अमेरिका आबद्ध हवाई आक्रमण पनि हुने गरेको छ । सिरियाली शासक समर्थक रसिया र विद्रोहीको समर्थक टर्कीको प्रयासमा गत डिसेम्बर ३० तारिखबाट सिरियामा युद्धविराम लागू भएको र यस युद्धविरामपछि प्रायः इलाकामा शान्त नै रहेको थियो । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमणबाहेक करिब करिब शान्त नै रहेको बताइन्छ । आगामी जनवरी २३ गतेदेखि काजकिस्तानको अस्तानामा सिरियाको विषयमा शान्ति वार्ता हुने भनिएको छ । अहिले हुने भनिएको शान्ति वार्तामा रसियाको टर्कीको विशेष भूमिका रहेको र यसअघि सरकार र विद्रोहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । यद्यपि पछिल्लो युद्धबिराममा अमेरिकाको प्रत्यक्ष संलग्नता भने रहेको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस) र अल कायदाजस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । जारी यस युद्धमा परी सिरियामा तीन लाख १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैगरी यस युद्धका कारण लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँले आफ्ना छिमेकी देशमा शरणार्थी जीवन यापन गर्नुपरेको छ ।

Syria War सिरिया

विशेष