News

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ– उपप्रधानमन्त्री महरा

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ– उपप्रधानमन्त्री महरा
माघ–२ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन् । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आर्इतबार अवलोकन गर्दै उनले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताएका हुन् । पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिए । प्राकृतिक सौन्दर्य नगरी पोखरामा रहेका प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उनले आन्तरिक एवम् बाह्य पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले एक विदेशी पर्यटक बराबर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेवमूर्ति स्थापनाले पर्यटकको एक दिनको बसाइँ लम्ब्याउन सहयोग पुग्ने बताए । पुम्दीकोट विशाल महादेवमूर्ति निर्माण तथा उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले ‘समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास’ भन्ने लक्ष्यका साथ सुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताए । समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको लगभग १८ रोपनी क्षेत्रफलमा फैलिएको सो कोटमा महादेवको मूर्ति, योगसाधना कक्ष, बगैँचा, बन्ने भएको छ । विगतमा लगभग रु २१ करोड लाग्ने अनुमान भए पनि पछिल्लो समयको मूल्यवृद्धिलगायतका कारणले लागत बढ्ने अनुमान गरिएको छ । रासस

कृष्णबहादुर महरा पर्यटकीय विकास पोखरा

विशेष